Logo

सत्ता थरीथरीका (घाउ आँफैँलाई दुख्छ बाट)


सत्ता थरीथरीका

मानिसलाई लाग्छ, सत्ता भनेको राजनीतिमात्र हो । राजनीतिज्ञहरू मात्र सत्ता चलाउँछन्, सत्ताको खेलमा लाग्छन् र शक्तिको भरपूर खेल गर्छन्् । विधि र मानक स्थापित गरी भोक, प्यास, अवसर, शक्ति र सम्बन्धको अभ्यास गर्छन् ।

राजनीति सतहमै देखिने औपचारिक र राजकीय सत्ता हो । राज्यका अवसरको खेल हुने सत्ता हो । त्यसैले यो सबैभन्दा वैध सत्ता पनि हो । सत्तामा स्वाद हुन्छ । त्यसैले सङ्घर्ष गरेर पनि सत्तामा जाने लालसा राजनीतिक पात्रमा हुन्छ । सत्ताको खेल खेल्न राजनीतिका खेलाडी माहिर हुन्छन् । स्वाद नहुँदो हो त खेलै नीरस हुन्थ्यो, सत्तासङ्घर्ष पनि हुँदैनथ्यो । सत्तामा राप र ताप अनि ओज पनि हुन्छ । साथै जिम्मेवारीको बोझ पनि हो सत्ता ।

जे भए पनि सत्ता समाजको मियो हो । सत्ताले कसैलाई केही गर्न वा नगर्न बाध्य गराएर समाज व्यवस्था धानेको हुन्छ । परिष्कृत सत्ता सभ्यता र संस्कारको शक्ति हो । अपरिष्कृत भए पनि बाध्यतामा नागरिकहरू सत्तालाई स्वीकार्ने विकल्पहीन बाध्यतामा हुन्छन् तर समाजमा एउटैमात्र सत्ता हुँदैन– देखिने सत्तामात्र पनि हुँदैनन् । सत्ता सतहमा मात्र पनि हुँदैनन् । नदेखिएका सत्ता देखिएभन्दा कैयन्गुणा शक्तिशाली हुन्छन् । मानिसहरू धेरै थरीका नदेखिने सत्तामा, देखिने सत्तामा, विश्वासका सत्तामा, सिर्जनाका सत्तामा, संस्कारका सत्तामा राम्रा÷नराम्रा धेरै सत्तामा लागेका हुन्छन् ।

राजनीतिको सत्ता सार्वभौमसत्ता हो । त्यसैले यसलाई सबैले देख्छन्, भोग्छन् र प्रभावित हुन्छन् । सार्वभौमसत्ताको भोग र भागिदारी लोकतन्त्रको मूल्य हो । साझा र स्वीकार्य मानक स्थापना गरी शक्तिको अभ्यास गर्नु राजनीतिक सत्ताको चरित्र हो तर यसबाहेकका सत्ता राजनीतिजति व्यापक हुँदैनन्– त्यत्तिकै वैध र औपचारिक हुँदैनन् । कतिपय सत्ता त अवैध र भूमिगत पनि रहन्छन् तर सबै सत्ताको साझा चरित्र त्यहाँ शक्ति र स्वाद हुन्छ । त्यसैले त्यहाँ प्रतिस्पर्धा हुन्छ । मूल्य र मानकका औपचारिक अनि अनौपचारिक विधिविधान पनि हुन्छ । त्यति भइकन पनि उछिनपाछिनको खेल हुनु ती सत्ताको अन्तर्य हो ।

सबै सत्ता प्रत्यक्ष–अप्रत्यक्ष, वैध–अवैध, अरू सत्तासँग सम्बन्धमा रहन्छन् । एकअर्कालाई प्रभाव पार्छन् तर केही सत्ता यस्ता हुन्छन्– जो सबैलाई आदर्श र आचरणमात्र सिकाउँछन् ।

मानवसत्ता मानव‘स्व’को मार्गदर्शक हो । राज्यसत्तालगायतका वैध सत्तालाई यसले दिशा निर्दिष्ट गर्दछ । अरू सत्ताका लागि सीमारेखा कोरेरै मानवसत्ता अस्तिवमा छ । यसले मानव अस्तिव र सम्बन्धका सीमा तथा सम्बन्ध उजागर गर्दछ तर म यहाँ छु भन्दैन, मान्नेले देख्छ, नमान्नेले देख्दैन । जति देखिएको र अपनाइएको छ– त्यसैका आधारमा राज्य, सङ्गठन अनि अरू धेरै संस्था यहाँसम्म आइपुगेका हुन् ।

मानवसत्ता अरू जीव–वनस्पति सत्ताप्रति निर्विवेक छ । आनै सुख सन्तुष्टि अनि स्वाद समृद्धिका लागि समस्त मानवसत्ता केन्द्रित छ । अरूको प्रतिकार गर्न नसक्दा, बलात् समर्पित हुँदा मानवसत्ता सुखभोगी भएको छ । के प्रतिकार नगर्दैमा निर्विवेक हुन हुन्छ ? धेरथोर सबै सत्ता कठोर हुन्छन् तर आफूलाई सर्वश्रेष्ठ प्राणी भन्ने मानिसले श्रेष्ठता पुष्टिका लागि पनि ‘मानवकेन्द्रित’मात्र नबनी विवेकको व्यवहार अरू जाति÷प्रजातिप्रति गर्नु नैतिक दायित्व हो । स्थूल सत्ताले नै निष्ठुरता र आत्मकेन्द्रीकरणको पाठ सिकाएपछि अरू सत्ताले त्यसको सिको गर्ने नै भए ।

परिवारभित्र पनि सत्ता छ । अझ भनौं, परिवारदेखि नै सत्ता अभ्यासको सुरु हुन्छ । परिवार सत्ताले कार्य र भूमिकाको विभाजन गरिरहेको छ । सत्ताका पार्टपुर्जा सम्बन्धमा बाँधिएका छन् र पनि शक्ति अनि सम्पत्तिमा रमाएका छन् । परिवारभित्र शक्तिको दृश्य÷अदृश्य सङ्घर्ष अनि हार र जित छ । भुसको आगोझैँ अन्तर्सङ्घर्ष भुत्भुतिएको छ । सत्ता नवीकरण र हस्तान्तरण छ । सत्ताको यही अभ्यासले परिवारलाई सङ्गठनको पहिचानमा राखेको छ ।

पारिवारिक सत्ताबाहिर व्यक्तिहरू आनो चाख, स्वार्थ र स्वादमा अरूसँग मिलेर सत्ता गठबन्धन गर्दछन्, अर्को सत्ता बनाउँछन् । राज्यसत्ताबाहेक अरू सत्तामा स्वेच्छिक संलग्नता र बहिर्गमनका बाटा खुला हुन्छन् तर पनि सत्ता संरचनामा पुगेपछि बर्हिगमनभन्दा संलग्नता नै रोजिएको छ । सत्ताको स्वाद मिठो भएकाले नै बहिर्गमन सायदै रोजिन्छ ।

समाजमा पुरुषसत्ता र नारीसत्ता अलगअलग अनि संयुक्त अस्तिवमा छन् । दुवै सत्ताभित्र पहिचान र अस्तित्वको अनवरत युद्ध छ र त्यो युद्ध मानवसत्ता रहेसम्म सकिनेखालको पनि छैन । पुरुषसत्ता जोदाहा छ, नारीसत्ता शालीन तर अन्तर्मुखी छ । शालीनताको औपचारिक आयतन धेरै छ, अदृश्य त्यो त्यही रूपमा छैन । सवर्गीय द्वन्द्व ठूलो र निकै गढेको पनि छ । थुप्रै कथाकहानी, शृङ्खला र नाटक रचिएका छन् तर सत्ता अहिले पनि आमूल परिवर्तनको पर्खाइमा छ ।

कलाकार स्वभावैले उदात्त, मानव ‘स्व’बोधी र नीति आदर्शका परिचायक हुन् । मानव आदर्श र वेदनाहरू कलाका माध्यमबाट प्रस्फुरण हुन्छन् । त्यसैले कलाकारहरूको सत्ता स्निग्ध, स्वच्छ र सुसंस्कृत हुनुपर्ने हो तर सर्जकहरू सिर्जनाकै लागि र स्वार्थका लागि सङ्घर्र्षमा छन् । कतिपय अवस्थामा राजनीतिक सत्ता र सम्भ्रान्तको वलय बनेर कलाकार सत्ताले स्वत्व गुमाएको छ । आखिर स्वाद जहाँ पनि छ । त्यसैले तुष्टिको राम्रो÷नराम्रो बाटोमा गायक नायक, गीतकार र साहित्यकार सबै दौडिएका छन् ।

स्वार्थ, लोभ, लालसा, प्रतिष्ठा र परिचयका लागि कर्म भुलेर वायुपङ्खी दौडमा छन् । महाकवि देवकोटालाई तत्कालीन साहित्यसत्ताले पागल घोषणा गरेथ्यो । उनले पनि कवितामै प्रतिकार गरेथे । कति राम्रा स्वर र श्लोकका धनी स्वार्थपूर्तिको लोभमा राजनीतिक सत्ताको जयगानमा दौडिएका छन् । राजामहाराजाकै स्तुतिमा श्लोक र स्वर फुरेका पनि छन् । यो कला–सत्ताको नै मानमर्दन हो । जनताका बोली कला मूल्यमा देखिनुपर्दैन र ? तर सिर्जनामार्फत आदर्श ओकल्न पात्रहरू पछि पर्दैनन् ।

मोफसलका सत्ता र सहर बजारका सत्ताबीच भुसे आगोको द्वन्द्व छ । मोफसलहरू सहरबाट सीमान्तीकरणमा छन् । किनारा पर्नुको क्रोध मोफसलमा छ । सहर सुविधा र अवसरको केन्द्र हो । मोफसल सहरलाई उत्पादन आधार दिन्छ । सहर सजिलो छ भने मोफसल श्रमिलो छ । साहित्य कला, सङ्गीतलगायत सबैमा सुविधाको सीमा छ । मोफसल सुविधाको किनारमा छ । वञ्चितिको विद्रोह थुम्थुम्याउँदै सहर अग्रगतिमा पाइला चालिरहेको छ । मोफसल रोष र ईष्र्या दबाएर समावेशिताको सम्झौतामा छ । प्रविधिले पनि पहुँचका बन्देज भत्काउँदै त लगेको छ तर नयाँखाले सङ्घर्षका ढोका नखुल्लान् भन्न सकिन्न ।

डन, तस्कर र अपराधीको पनि निकै गठिलो, अनुशासित तथा आक्रामक भूमिकापूर्ण आआनै सत्ता छ । उनीहरूको अन्तर्संघर्ष पनि त्यत्तिकै आक्रामक छ, त्यहाँ आलोचना र आत्मालोचनाको गुञ्जायस निकै कम छ । राजनीतिक सत्ताजस्तो यी सत्ता भाषण, गोष्ठी र नाराबाजी गर्दैनन् । अपराधको सत्ता अनुशासनले मात्र टिक्ने हो । अपराध अनुशासनका आनै मानक होलान् । त्यहाँ प्रतिस्पर्धीको अस्तिव नै स्वीकारिँदैन तर औपचारिक सत्ता यसको चालै पाउँदैन, परिणामबाट मात्र पीडित हुन पुग्छ । उनीहरूको सञ्जाल, सूचना र सम्बन्ध प्रणाली, नीति कार्यनीति तथा जुक्ति निकै आक्रामक अनि गतिशील देखिन्छन् तर ती अरू सत्ताले स्थापना गरेका निर्माण र मूल्य भत्काउन उद्यत छन् ।

साधु, योगी, साधक, उपासकहरू आध्यात्मिक हुन्छन् । चैतन्य चिन्तन उनीहरूको कर्म हो– जुन चिन्तनबाट मानवसत्ता अपरिमित आनन्द पाउने गर्छ । उनीहरु आत्मिक चिन्तन गर्छन््, स्वार्थान्धता देखाउँदैनन् । उपदेश दिन्छन् र साधना सिकाउँछन् तर उनीहरूको सत्ता पनि स्वादिलो छ । उनीहरूको सत्ताले पनि पहिचान र वर्चस्व खोज्छ । सत्तास्वादले मानव मस्तिष्कलाई विषाक्त पार्छ । योगी, साधु, साधकहरू मञ्च, प्रतिष्ठा र सम्मानमा साँघुरिन हुन्छ र ? हुन्छ भने उनीहरूको साधना शिक्षाबाट मानवसत्ता कसरी आदर्श बन्ने प्रेरणामा पुग्छ ?

धर्मको सत्ता अफिमजस्तै लठ्याउने खालको छ । ईश्वरका उपासक सेवाहि परमोधर्म अलाप्दै अफिमको नशामा लठ्ठिन्छन् । ईश्वरका नाममा समाजको कित्ताकाट गर्छन्् । आफूइतर सम्प्रदायप्रति अस्त्र प्रयोग गर्छन््, निकै निष्ठुर हुन्छन् । हिन्दु, इसाई, मुस्लिम र बुद्धमार्गी बीचमात्र होइन– त्यहाँभित्रका सम्प्रदाय नै एकअर्काप्रति संयमित छैनन् । सिया र सुन्नी, क्याथोलिक र प्रोटेस्टेन्ट, शैव र वैष्णव, महायान र हीनयान सहभावमा देखिएनन् । देखिन्थे त अर्को सम्प्रदाय किन जन्मन्थ्यो ? राजनीतिक सत्ताबाट टुक्रिएका दलजस्तै धर्मसत्ताबाट पनि सम्प्रदाय छुट्टिए र एकअर्काप्रति उछित्तो काढ्न थाले । धर्मसत्ता ईश्वरीय हुन सकेन, मानवतामा धर्म देखिएन र आचरणमा खोक्रोपना देखिन थाल्यो । त्यसपछि धर्मसत्ताको महत्ता नै कति ?

बुद्धिजीवीहरूको सत्ता ठूल्ठूला गफ दिएर अरू सत्तालाई उपयोग गर्छन्् । याने कि बुद्धिको व्यवसाय गर्छन्् र सत्तास्वादमा रमाउँछन् । समाजको चिन्तन गरेर समाधान दिने होइन कि बुद्धिकै व्यवसायमा रमाउँछन् र अरूलाई मूर्ख तुल्याउँछन् । बुद्धिजीवीहरू विवेक र ज्ञान बाँडेर समाजको उत्थानशील रूपान्तरण गर्नुपर्ने दायित्वबाट परै छन् । र पनि भनिरहेका छन्– ‘हामी नागरिक समाज, हामी समाजको मार्गदर्शक, सिद्धान्तका प्रणेता, दर्शनका अध्येता हौं… ।’ चिन्ता, चिन्तन र चुनौतीबोध नभएपछि उनीहरु ‘बुद्धिजीवी’मात्र हुने भए । बौद्धिक आदर्श भएनन् ।

आमसञ्चारका सत्ता अरू प्रतिस्पर्धी र जुक्तिशाली छ । ऊ आनो व्यवसायका लागि अरुलाई उपयोग गर्छ । खोज्छ, बोल्छ, बोलाउँछ र अरु धेरै गर्छ । सोह्रौं शताब्दीका सुरुमा शालीन, सानो र स्पष्ट यो सत्ता आजसम्म आइपुग्दा प्रविधिसज्जितमात्र छैन– अरु सबै सत्तालाई हाबुकाबु पार्ने सामथ्र्यमा छ । आमसञ्चार सत्ताभित्र अरु धेरै उपसत्ता जन्मिएकाले उनीहरुबीचको सङ्घर्ष भने एकअर्कालाई सिध्याउनेगरी रोचक बन्दैछ ।
राजनीतिको सत्ताले अरू सत्तालाई आनो अभीष्ट पूरा गर्न प्रयोग गर्छ, अरू सत्ता राजनीतिकृत भएर आनो सत्तास्वार्थ पूरा गर्छन्् । यो माखेसाङ्लो सत्ताको महत्ता विकृत गर्न उद्यत रहन्छ ।

अरू धेरै सत्ता जन्मेका छन् र जन्मँदै छन् । पुस्तापुस्तामा सत्ताका खात थपिँदै जानेछन् । प्रत्येक सत्ताले राम्रा–नराम्रा आनै मानक र प्रणाली बनाउँछ, अस्तिव र महङ्खव खोज्छ । जति धेरै सत्ता भए पनि साझा चरित्रचाहिँ शक्ति, सङ्घर्ष र स्वाद हो– महत्ता अनि आदर्श होइन ।

– गोपी मैनाली

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)