Logo

समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस म्याग्दीमा व्यावसायिकरुपमा खेती गर्नेक्रम बढ्दै


गलेश्वर, ३० साउन:म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ ।जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, थुन्से, भकारी, मान्द्रो र सोली जस्ता सामग्री बनाउने गरिन्छ । बाँसबाट बनेका यस्ता सामानको घरायसी प्रयोजनका लागि दैनिकरुपमा प्रयोग गरिँदै आएको छ ।

पछिल्लो समयमा सहरबजार क्षेत्रका घर तथा भवनको निर्माणमा समेत बाँसको प्रयोग हुन थालेपछि यसले बजार पाउन थालेको छ । म्याग्दीमा खोला किनार र खेतबारीका कान्ला र डिलमा व्यवस्थितरुपमा बाँसको खेती गर्न थालिएको छ । अहिले बाँस खेतीले व्यावसायिक रुप लिएको छ ।नेपालका तराईदेखि मध्य पहाडसम्म प्राकृतिकरूपमै बाँस सप्रन्छ । यो वनस्पतिका एक हजार ४०० प्रजाति रहेका वन पैदावर तथा वनस्पतिका जानकार जीवनप्रसाद राईले बताउनुभयो । विश्वमा ५०० प्रजातिका बाँसको व्यावसायिक खेती गरिएको पाइन्छ ।

बाँस कम लगानीमा हुर्काउन सकिने र चाँडो बढ्ने वनस्पतिमा पर्छ । सिँचाइ नहुने र बाँदर लाग्ने ठाउँमा पनि गोडमेल नगरेरै बाँस सप्रिन्छ । अन्न फल्न मुश्किल पर्ने जमिनमा पनि बाँसको व्यावसायिक खेती गर्न सकिने राईले बताउनुभयो ।बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा बाँसखेती सप्रिएको छ । बाँसका आधा दर्जन जातमध्ये भालुबास, तामेबास र मलबास निकै फस्टाएको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँ उत्पादन भएका बाँस सदरमुकाम बेनीलगायतका ठाउँमा बिक्रीवितरणका लागि व्यापारीले लैजाने गरेका छन् । एउटा बाँसको मूल्य रु एक सयदेखि रु तीन ससयसम्म पर्दछ ।

म्याग्दीबाट हरेक वर्ष २४ हजार टन बाँस बिक्री हुने गरेको तथ्याङ्क छ । बाँसबाट निर्माण भएका नाङ्ग्ला, डाला, मान्द्रालगायतका सामान विभिन्न स्थानमा बिक्रीवितरण गर्न पु¥याइने गरिएको छ । ज्यामरुककोट, अर्मन, बाबियाचौर, मालिकालगायत स्थानमा व्यावसायिक बासको खेती सुरु गरिएपछि स्थानीय किसानको आयआर्जनमा वृद्धि हुन थालको छ । सहरीकरणको विकाससँगै घर तथा भवनको निर्माणमा तीव्रता आएपछि बाँसको खपत बढेर गएको छ ।

बाँसका घरायसी तथा आधुनिक सामान निर्माण गर्नका लागि जिल्लाको ग्रामीण बस्तीमा साना तथा घरेलु उद्योगसमेत सञ्चालन भएका छन् । बाँसबाट हस्तकलाका आकर्षक डोको, डालो, नाङ्लो, पाथी, खोगी, पेरिङ्गो, थुन्से, मान्द्रो, खेलौना, आलमारी, ह्याङ्गर, टेबुल–कुर्सी, सोफालगायत फर्निचर बनाएर आय बढाउन सकिने डिभिजन वन कार्यालयका प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)