Logo

उद्योग एवं कलकारखानामा गरियो भगवान् विश्वकर्माको पूजा


पोखरा, १ असोज: निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ ।प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ ।

त्यस्तै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ । सवारी साधनमा आजको दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । यातायात व्यवसायीले पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको परिसरस्थित विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् ।नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले आजकै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)