Logo

धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै


म्याग्दी, २७ कात्तिक  : धानको बियाँ, चामलको कनिका र कोदोको कपनी यी शब्दले खाद्यान्नको सानो रुपलाई जनाउँछन् तर पछिल्लो पुस्ताका बालबालिकालाई यी शब्द नै नौलो लाग्न थालेका छन् । कतिपय बालबालिकालाई त धान फलेर (कुटेर) चामल निकालिन्छ भन्ने कुरा नै थाहा छैन । उनीहरुले सोध्ने गर्छन् चामलको बोट कस्तो हुन्छ ?दिनहुँ भात खाने चामलका बारेमा त थाहा नहुने आजको पुस्तालाई कहिल्यै पनि नखाएको कोदोका बारेमा के थाहा होस् । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कका लागिसमेत दुर्लभजस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ ।

वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–३ भकिम्लीका दधिराम थापाले बताउनुभयो ।करीब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।काम गर्ने जनशक्ति नहुनु र खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकले बताएका छन् । बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय वेदप्रसाद शर्माको घरमा पनि काम गर्ने मान्छे छैनन् । उहाँको परिवारमा श्रीमती, एक छोरा र बुहारी छन् ।

छोराले बेनी बजारमा व्यापार र बुहारीले घरमा नै पसल गर्नुहुन्छ । वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उहाँको घरमा पछिल्लो समय एक गेँडा पनि छैन ।कोदो फलाउने रहर भएर पनि बूढेसकालका खेती गर्न नसकेको उहाँले बताउनुभयो । अहिलेका युवाले कोदोको महत्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उहाँको भनाइ छ । औषधीय गुण भएको तागतिलो खाद्यान्न मानिने कोदोको खेती गाउँघरतिर निकै कम हुँदै गएको मालिका गाउँपालिकाको ओखरबोटका ६४ वर्षीय भवीराज विकले बताउनुभयो ।

कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न(घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पीठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाले बताउनुभयो । गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि शहरका होटलले भने कोदोका परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् ।

होटेलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीमा रहेको होटल यतिका सञ्चालिका विमला गौचनले बताउनुभयो । त्यसैगरी गाउँगाउँमा सञ्चालित घरवासमा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिरा बरामद गरेर नष्ट गर्दै आएको बताउनुभयो ।

कोदोमा प्रसस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका तत्व पाइने ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरे बताउनुहुन्छ ।तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उहाँकोे भनाइ छ । म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये ५०० हेक्टरमा कोदोखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)