Logo

रुकुम(पश्चिम)का डेढ सय विपन्न परिवारले नयाँ घर पाउँदै


रुकुमपश्चिम, २४ जेठ-रुकुम –पश्चिम)का झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १२९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तभित्र जिल्लाका ६ स्थानीय तहमा घर नहुँदा आफन्तका शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउँदै छन् ।

जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका तीन घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेको हो । घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफँैले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनोट भएको निर्वाचन क्षेत्र नं २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा परेका प्रत्येक परिवारका लागि दुई कोठा र बरण्डासहितका घर निर्माण हुने छन् ।

त्यस्तै शौचालय भने स्वयं परिवारले श्रमदानस्वरुप अनिवार्य रुपमा निर्माण गर्नुपर्ने छ । प्रतिघर निर्माणका लागि रु तीन लाख पाँच हजार प्राप्त हुने प्रदेशसभा सदस्य शर्माले बताउनुभयो । दुई भन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने उहाँको भनाइ छ । त्यसका लागि बाँकी खर्च भने स्वयं परिवारले व्यहोर्नुपर्ने छ । निर्वाचन क्षेत्र नं १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४ घर निर्माण हुने छन् ।

चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी निर्वाचन क्षेत्र नं २ मा ६५ घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो । घर निर्माणको प्रक्रिया शुरु भइसकेको जनाइएको छ । घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र हुने क्रम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । लकडाउनका कारण छनाट र सम्झौतालगायत प्रक्रिया पूरा गर्न ढिलाइ भए पनि तोकिएकै समयमा घर निर्माण गर्ने गरी काम शुरु भइसकेको बताइएको छ । घर निर्माणका लागि निर्माण समिति रहने र घर निर्माण सकिएपछि समितिले घर बनाउने परिवारको खातामा पैसा सीधै राखिदिने प्रदेशसभा शर्माले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)