Logo

फौजी किरा नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी वितरण


मुग्लिन, २४ जेठ :चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी वितरण गरेको छ । गाउँपालिकाभित्रका ४०० किसानलाई करिब ६०० बोतल विषादी वितरण गरिएको हो ।गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानलाई निःशुल्क वितरण गरिएको बताउनुभयो । गत वर्ष फाट्टफुट्टरुपमा देखिएको फौजी किरा यस वर्ष भने अत्यधिक बढेको उहाँले बताउनुभयो । गाउँपालिकाभर ५० बिघाभन्दा बढी मकैबालीमा यसको प्रकोप देखापरेको उहाँको भनाइ छ ।

अहिले किसानलाई फौजी किराबारे जानकारी गराउने र नियन्त्रणका उपाय सिकाउने काम गरिरहेको उहाँले बताउनुभयो । गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आवश्यकताअनुसार किसानलाई थप निःशुल्क विषादी उपलब्ध गराउने जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)