बी. पी को संझनामा शब्दसुमन
प्रा. डा. दुर्गा दाहाल
नेपालीधरतीका स्वनामधन्य राजनेता बी. पी कोईरालाको बहुआयामिक व्यक्तित्वलाई केलाउनु त्यति सहज छैन । यद्यपि छोटा मानिसहरूले अग्ला मानिसको नाम वर्षमा एकदिन जपेर राजनीतिको खेती गरेको देखिन्छ, उनीहरूलाई धिक्कार छ । तिनीहरू हुतिहारा हुन र बी. पी को मृत्युपश्चात पनि उनको नामको दुरूपयोग गरि व्यापार गरिरहेका छन, बलात्कार गरि रहेका छन ।
आजको यो पुण्य स्मृतिको पावन अवसरमा मेरा राजनैतिक गुरू बी. पी कोईराला प्रति मेरो हार्दिक हार्दिक संझना र स्तुति छ । उनी सदैव पुजनीय र आदरणीय छन । उनले प्रतिपादित गरेका आदर्श र सिद्धान्तहरू नेपाली समाज र समुदायका लागि सदैव उतप्रेरक छन ।
बी. पी र गौतम बुद्ध नेपालीका लागि आशीर्वाद र वरदान थिए तर नेपालले चिन्न नसकेको कुरा सर्वविदितै छ ।
सारा विश्वले बुद्धको शान्तिसन्देशलाई अवलम्बन गरेर, आफ्नो जीवनपद्धतिमा अनुवाद गरेर उपकृत भए तर नेपाली राजनीतिका ठेकेदारहरूले त लुम्बिनीलाई पनि सफा गर्न सकेनन । बुद्धिहीन नेपाली नेताहरूले बुद्धको सन्देशलाई बुझ्नै सकेनन अथवा बुझेर पनि बुच पचाई रहेका छन ।
बी. पी कोईराला बहुआयामिक व्यक्तित्वका धनी र विलक्षण प्रतिभाका प्रतिमूर्ति थिए । खासगरि उनलाई तीनकिसिमले हेर्न सकिन्छ । उनको सगरमाथा जस्तो अग्लो र बहुआयामिक व्यक्तित्वलाई हामीले सामाजिक, राजनैतिक र साहित्यिक तीन किसिमले केलाउनु पर्ने हुन्छ । अधिकांशले राजनैतिक र साहित्यिक व्यक्तिक्वलाई सतही किसिमले व्याख्या गरेको पाईन्छ तर बी. पी को तीनकिसिमको चरित्र पाईन्छ । अधिकांशले उनलाई चिन्न सकेनन र सक्तैनन ।
उनको जन्म बनारसमा भएकाले र बाल्यकाल भारतमै बितेको हुनाले राजनीतिमा महात्मा गान्धीबाट प्रभावित भएका थिए । भारतको स्वतंत्रता आन्दोलनमा पनि उनी सकृय थिए । पछि इन्दिरा गान्धीको शासनकालमा उनी राष्ट्रीय मेल-मिलापको नीति लिएर नेपाल फर्किएका थिए । भारतबाट नेपाललाई भारतमै मिसाउने दबाब आएको हुँदा बरू “राजाको घाँटीसंग मेरो घाँटी मिलाऊँछु” भनेर उहाँले भन्नुभएको थियो । अर्थात, “राष्ट्रीय शक्तिसंग मिलेर म अघि बढछु“ भनेको कुरालाई पछि कम्युनिस्टहरूले अपव्याख्या गरेका थिए ।
राष्ट्रीयता, प्रजातंत्र र समाजवादको मूलमंत्र लिएर बी. पी ले अनवरत संघर्ष गर्दै गए र अन्ततोगत्वा नेपालमा आन्दोलन पनि सफल भयो तर आन्दोलनका उपलब्धिहरू संस्थागत हुन सकेनन र हुने छाँटकाँट अहिलेलाई टाढाटाढासम्म देखिंदैन । किनभने नेताहरू फटाहा भए, भ्रष्ट भए, बलात्कारी र व्यभिचारी भए । बी. पी को राजनैतिक व्यक्तित्वको पाटोलाई कुनै दिन पुन: केलाऊँला ।
बी. पी को साहित्यिक पाटो अत्यन्त उर्बर छ । म साहित्यको विद्यार्थी भएकाले र Psycho- analysis मै विद्यावारिधि गरेको हुनाले केही हदसम्म उनीभित्र प्रवेश गर्न सक्तछु तर जो कोहीले उनको साहित्यिक व्यक्तित्व र कृतित्वलाई राम्रोसंग केलाउन सक्तैन । किनभने मानवीय संवेग, संवेदना र मनोविज्ञान प्रति उनको विश्लेषण र संश्लेषण क्रिकेट र अपरम्पार छ ।
उनी साहित्यमा मूलत: फ्रायडीय सिद्धानतका अनुयायी र पक्षपाती हुन । यद्यपि उनले मार्क्सवादी साहित्यको पनि अध्ययन गरे तर त्यसबाट त्यतिधेरै प्रभावित हुन सकेनन ।
सिगमन्ड फ्रायडको अचेतन मन
( unconscious mind ), उपचेतन मन
( sub- conscious mind ) र चेतन मन
( conscious mind ) को अवस्था र स्थितिलाई गहिरोसंग अध्ययन गरि त्यसबाट प्रभावित भएर उनले साहित्यमा मनोविश्लेषणको अध्याय शुरू गरेका थिए । त्यसबखतको पुरातनवादी समाज र समुदायमा यस्तो किसिमले साहित्यमा प्रवेश गर्नु त्यति सहज थिएन तर उनले कुशलतापूर्वक आफ्नो शिल्प- साधनाद्वारा सबैको मन जितेका थिए ।
सानै उमेर देखि ( क़रीब १४ वर्ष ) उनले साहित्यिकयात्रा शुरू गरेको इतिहास छ । शुरूमा उनी भारतका प्रसिद्ध साहित्यकारहरू जयशंकर प्रसाद, मैथिलीशरण गुप्ता, मुन्सी अजमेरीजी, सूर्यकान्त त्रिपाठी, ‘ निराला’, विनोदशंकर व्यास र प्रेमचन्दको सम्पर्क र संसर्गमा आए र साहित्यिक ताप पाए भनिन्छ ।
उनका शुरूवाती लेखहरू भारतको “ हंस “ भन्ने मासिक पत्रिकामा प्रकाशित भएका थिए । यद्यपि कोईरालाले पहिले कविताबाटै आफ्नो साहित्यिक यात्रा शुरू गरे, पछि गएर कथा, उपन्यास र निबन्धमा पनि व्यापक सफलता हासिल गरे ।
नेपाली साहित्यमा, खासगरि कथाविधामा नयाँ मूल्य- मान्यता र अवधारणा निम्त्याएर बी. पी ले नयाँयुगको सूत्रपात गरेका थिए ।
पश्चिमी साहित्यकार, रूसका अत्यन्त लोकप्रिय लेखक ( Anton Chekhov: a great playwright and story writer ) बाट खुबै प्रभावित कोईरालाका कथाहरूमा उनको छाप देख्न पाईन्छ ।
मेरा पनि अति प्रिय साहित्यकार चेखभ
( Anton Chekhov) र बी. पी कोईराला मेरा हृदय र मानसपटमा सदैव जीवित छन ।
बी. पी का युगान्तकारी साहित्यमा निम्नलिखित विषयहरूको प्राधान्यता पाईन्छ ।
१. स्वस्थ यौन सिद्धान्तको प्रयोग
२. मानसिक द्वन्द्वको प्रयोग
३. प्रतीकसिद्धान्तको बीजारोपण
४. सामाजिकताको उपस्थापन
५. शिल्प- सचेतना
६. स्वच्छन्दतावादको प्रयोग
७. संस्कृतिसापेक्ष सामाजिक चित्रण र मनोवैज्ञानिक विश्लेषण
८. सामान्य मनोरोगीपात्रहरूको परिचय र प्रकाशकार्य एवं
९. तत्कालीन समाज र पात्रहरूको यथार्थ चित्रण
यसरी हेर्दा बी. पी कोईराला त्यसकालखण्डका एक अपूर्व र उद्देकलाग्दा उज्याला तारा थिए तर भूगोल ग़लत परेछ । नेपाली नेताहरूले प्रकृतार्थमा उनलाई अद्यपरिमित चिन्न सकेका छैनन ।
बी. पी एक समाजसुधारक र समाजवादी चिन्तक पनि थिए । उनको यो पाटोलाई अधिकांशले उपेक्षा गरेको देखिन्छ तर आफ्नो साहित्य- साधनामा उनले यसको संकेत दिएका छन । समाज र समुदायमा भेटघाटको क्रममा अथवा व्यक्तिगत संवाद र सम्पर्कमा उनले सँधै परिवार, समाज र समुदाय सप्रिए मात्रै राष्ट्रको विकास हुन सक्छ र नेपालीहरूले पनि अन्तराष्ट्रीय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन भन्ने सन्देश प्रवाहित गर्नु हुन्थ्यो भन्ने कुरो उहाँसंग प्रत्यक्ष भेटघाट गरेका अग्रज महानुभावहरूबाट सुनेको छु ।
अन्त्यमा, एउटा रोचक प्रसंग:
उतिखेर कुनैबेला बी. पी कोईराला राजदरबारबाट फर्किए पछि लौहपुरुष गणेशमानजी ले सोध्नु भएछ, “ अनि, राजाले सम्बोधन गर्दा के भने,” तिमी कि तपाईँ ?”
बी. पी ले भन्नु भएछ, त्यो गौण विषय हो, “मुख्य विषयमाथि सफल संवाद भयो ।”
यस्ता एउटा महान व्यक्तित्वलाई नेपाली कांग्रेसले नचिन्नु अथवा चिनेर पनि उहाँलाई बी. पी जयन्तीमै सीमित राख्नु डाडूमा पानी तताएर मर्नु सरह हो ।
( क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल नेपाली कांग्रेसका प्राक्तन प्रशिक्षक र राजनैतिक विश्लेषक हुनुहुन्छ )