Logo

कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो


कर्णाली, १५ साउन -सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको जिकिर छ । भेरीगङ्गा – १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाइएको मकैबाली सलहले क्षति गरेको बताउनुभयो ।

“कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन, लगाएको बाली सलहले खाइदियो,” उहाँले गुनासो गर्नुभयो, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाइएको बालीमा सलहले क्षति गरेको छ  रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । लकडाउनले आँप बिक्रीमा भने समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, बिसीले भन्नुभयो ।

स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पु¥याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिनअघि स्थलगत अवलोकन गरेको थियो ।मन्त्री आफँै खेतबारीमा आएर क्षतिको अवस्था बुझी फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलह देखिएका थिए ।

प्रतिकूल मौसमका कारण सानोसानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु¥याउन सक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु¥याइएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन र चिङ्गाड गाउँपालिकाका केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् ।

सलहले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन ।एकीकृत कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदोलगायत बालीमा सलहले क्षति पु¥याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पु¥याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोटलगायत जिल्लामा पनि सलहले क्षति गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)