भुरेटाकुरे राज्यको इतिहास बनेको भीमादरबार संरक्षण अभियानमा स्थानीयवासी • Osvevo

भुरेटाकुरे राज्यको इतिहास बनेको भीमादरबार संरक्षण अभियानमा स्थानीयवासी

LC (KTM) September 13, 2021
0

बलेवा, २८ भदौ – भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा स्थानीयवासी जुटेका छन् । काठेखोला गाउँपालिका–२ र गण्डकी प्रदेश सरकारको संयुक्त प्रयासमा गत वर्ष रु २० लाखको कामसमेत भइसकेको छ । इतिहास संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने अभियानमा काम सुरु भएको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।

ऐतिहासिक कोटलाई पुनःनिर्माण, मर्मत र पदमार्गसहितको बनाउन थालिएको उहाँले बताउनुभयो । पर्यटक पु¥याएर गाउँमा चहलपहल बढाउने लक्ष्य पनि राखिएको छ । १८१५ सालमा भीमापोखरामा चौबिसे राजामध्येका दीर्घनारायण मल्ल र उनकी रानी भीमाले राज्य गरेको इतिहास छ । भीमारानी दरबारको भग्नावशेष पुनःनिर्माण गर्दा इतिहास पनि संरक्षण हुने, पर्यटन प्रवद्र्धन पनि गर्न सकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताउनुभयो । पालिकाले यहाँ रु दुई करोड लगानी लाग्ने गरी संरचना बनाउन सकिने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । “डीपीआरअनुसारको काम सक्न रु दुई करोड चाहिन्छ, तर अहिले काम थालिएको मात्रै हो”, थापाले भन्नुभयो, “प्रदेश र सङ्घीय बजेटको खोजी भएको छ, प्राप्त भएमा अर्को वर्ष केही भएको देखिने छ ।”

पुनःनिर्माणको कामले ऐतिहासिकस्थलको संरक्षण, संस्कृतिको प्रवद्र्धन तथा पर्यटकीय गन्तव्य बनाउने योजना रहेको स्थानीयवासी चन्द्रमणि उपाध्यायले बताउनुभयो । भीमा रानीकै सम्झनामा यो गाउँलाई धेरै पहिलादेखि नै भीमापोखरा भनिएको उहाँले बताउनुभयो । इतिहासकारका अनुसार श्रीमान्को मृत्युपछि १८४३ सालमा छोरा गणेशबम मल्ल राजा भएका थिए । मल्लकै शासनकालमा बहादुर शाह र अमरसिंह थापाको फौजले यो राज्य कब्जा गरेको इतिहास छ । राज्य बिलयपछि भीमा रानीले पोखरी खनेको ऐतिहासिक छ । उक्त पोखरीकै नामबाट तत्कालीन गाविसको नामाकरण भएको थियो । नेपालको ऐतिहासिक रुपरेखा नामक पुस्तक र सहप्राध्यापक विष्णु मैत्रेयको ‘बागलुङको सेरोफेरो’ नामक कृतिमा पनि भीमापोखराको इतिहास लेखिएको छ ।

अग्लो पहाडमा पर्खाल लगाएको कोतघरजस्तो देखिने भीमापोखरामा अहिले पनि भग्नावशेष देख्न सकिन्छ । यहाँ कोठा र राजाको बैठककक्षजस्तो आकृति अझै देखिन्छन् । “इतिहास सम्झाउने दरबार भएकोले संरक्षण आवश्यक छ”, उपाध्यायले भन्नुभयो, “पर्यटकीय गन्तव्य बनेपछि गाउँमा आर्थिक समृद्धिको ढोका खुल्छ ।” भीमापोखरा पुग्न मध्यपहाडी लोकामार्गको अक्षेतेबाट ३० मिनेटको जिपको यात्रामा पुगिन्छ । यहाँ हाल कच्ची सडकले जोडिएको छ । “सडक विस्तार र स्तरोन्नतिको योजना पनि छ, त्यसले पर्यटक भित्र्याउन सहयोग पुग्छ”, वडाध्यक्ष शर्माले भन्नुभयोे, “पदमार्गमार्फत आउनेलाई पनि वैकल्पिक मार्ग बनाउन काम थालिसकियो ।” पदमार्ग निर्माणले पर्यटक बढाउने उहाँले बताउनुभयो ।

कोत, घण्टाघर, सुरक्षाकर्मीले पहरा दिने कोठा र चोक भएकाले भग्नावशेषलाई दरबारकै रुपमा उठाउनुपर्ने योजना बनेको शर्माले बताउनुभयो । गाउँपालिकाले भीमापोखरा हुँदै धम्जा, तंग्राम, बिहुँतर्फको पहाडी कोरिडोर रेखाङ्कन गरेको छ । वडा नं १ को पाला, कालीमाटी हँुदै सदरमुकाम जोड्ने सडक पनि स्तरीय बनाउन काम सुरु भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर