अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता • Osvevo

अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

LC (KTM) September 18, 2021
0

काबुल, २ असोज – अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ती बालबालिकाहरूलाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधि लगायतको आवश्यकता देखिएको हो । समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षति समेत हुनसक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले बालबालिकाहरुमा कुपोषण लगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरू समेत देखिएको जानकारी दिएका छन् । बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो परेको युनिसेफले जनाएको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसङ्घले अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसङ्घले जनाएको छ । हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलाहरूलाई समेत खाद्य पदार्थ, स्वास्थ्य सामग्रीहरूको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराउनु भएको छ ।
गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप संकट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशहरूको अडान छ । विभिन्न देशहरूले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसंघले सहयोग जुटाउनका लागि पहल गरेको छ। (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर