Logo

आफ्नै परिवारमा सीमित रहेर दशैँ मनाऔँ


कर्णाली, १० कात्तिक  :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँं मनाउन अपिल गर्नुभएको छ । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताउनुभएको छ । “आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, शुभकामना सन्देशमा भनिएको छ, “नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयबाट सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड सङ्क्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेश सरकारले गरेको छ ।”

उहाँले नयाँ चुनौतीका रूपमा खडा भएको कोरोना सङ्कटले विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भए पनि बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप प्राप्त सङ्घीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न योजनाबद्ध रूपमा प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो । “सङ्घीयताको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणका लागि प्रदेश सरकार दृढ छ”, जारी शुभकामना सन्देशमा उल्लेख छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)