पूर्वको सम्झना : भोटखोलाको यात्रा
संस्मरण
पूर्वको सम्झना : भोटखोलाको यात्रा
नवराज न्यौपाने ‘मौन’
२०६१ साल माघ महिनामा म सङ्खुवासभा जिल्लामा सरुवा भएर गएँ । काठमाडौंबाट तुम्लिङ्टारसम्म जहाजमा र तुम्लिङ्टारबाट खाँदबारीसम्म जीपमा यात्रा गरियो । संखुवासभा जिल्ला सडक सञ्जालमा सीधा नजोडिए पनि जिल्लाभित्र भने हेलिकोप्टर र भरिया लगाएर गाडी पुर्याइसकेका रहेछन् ।
खाँदबारी नगरपालिकाको उत्तरका ११ गाविसहरु दुर्गम मानिएका थिए र हाम्रो कार्यक्रम तिनै गाविसहरुमा केन्द्रित रहेको थियो । शुरुका दुई वर्षमा मैले दिदिङ गाविसको ककुवाखोला ट्रसब्रिज र अरुण तेस्रोको पावरहाउस रहेको ठाउँ(पुखुवाफेदी )मा दिदिङ र याफु गाविसबीच अरुण नदीमा झोलुङ्गेपुल निर्माणको काम गरें । साथै नुम र याफु गाविसबीच छोयाङ्फेदीमा झोलुङ्गेपुल सर्वे गर्ने कामका र मकालु गाविसमा ३० किलोवाट क्षमताको मकालु विद्युतीकरण योजनामा काम गरें । यस क्रममा सामान खरीद ढुवानी गर्ने क्रममा खाँदबारी -तुम्लिङ्टार ‘लेगुवाघाट – पाख्रिबास -हिले -धनकुटा -भेडेटार -धरान -विरात्नगरसम्म ओहोरदोहोर पनि गरियो । काठमाण्डौंबाट हिलेसम्म रात्रीबस चल्ने गर्दथे । त्यहाँबाट जीपमा लेगुवाघाट हुँदै अक्करको भिरसम्म पुगिन्थ्यो भने त्यहाँबाट ३ घण्टा पैदाल हिंडेर तुम्लिङ्टार पुगिन्थ्यो । अक्करको भिरमा एस्काभेटर प्रयोग गरी सडकअको ट्र्याक खोल्ने काम हुँदै थियो ।
२०६३ सालको मङ्सिर महिनामा चेपुवा विद्युतिकरण योजना सञ्चालन गर्न भोट्खोलाको चेपुवा गाउँ जानुपर्ने भयो । चेपुवाका दावा भोटे जिविसका कर्मचारी भएकोले उनको समन्वयमा काम गर्न सजिलो हुने भयो । उपभोक्ता समितिका अध्यक्ष फुर्बु ठिलेन भोटे मलाई लिन आए । र, हामी ३ दिन पदल हिंडेर चेपुवा जाने भयौं । पहिलो दिन खादबारी माथिको चिचिलामा बसियो । दोश्रो दिन नुम ,फ्याक्सिन्दा ,हेदाङ्ना हुँदै गोला पुगेर बसियो । तेस्रो दिन हामी नामासे पुगेर बस्ने निधो गरेका थियौं । तर नामासे मुन्तिर फराकिलो ठाउँमा मेला लागेको रहेछ । साथै विविध साँस्कृतिक कार्यक्रम र भलिबल ,फूट्बल कार्यक्रम पनि रहेछ । हामी पनि मेलामा गयौं । खेल हेर्दा हेर्दै साँझ पर्यो र हामी त्यहीका छाप्रामा बास बस्ने भयौं । साझमा फेरि केटा र केटीहरु स्थानीय भोटे (सिङ्सावा ) भाषामा दोहोरी गीत गाएर नाच्ने कार्यक्रम रहेछ । फुर्बु ठिलेन पनि गीत गाएर नाच्न थाले । भाषा नबुझे पनि म रमाएर हेर थालें । हेर्दाहेर्दै रातको १० बज्यो । सुत्न टहरामा गएको त मेरो स्लीपिङ ब्याग अर्कैले लगिसकेछ । अनि फुर्बु ठिलेनको स्लीपिङ ब्याग चेन फुकाएर दुवैजनाले ओडेर सुत्यौं । तर चिसोले गर्दा मलाई रातभर निद्रा परेन । विहान सबैरै एकजना केटोले माफी माग्दै स्लीपिङ ब्याग खाली देखेर लगेको बतायो ।
भोलिपल्ट भलिबलको फाइनल रहेछ । हामीले भलिबल हेरेर नामासे गएर बस्ने निधो गर्यौ । स्थानीय युवा क्लबका युवाहरुले मलाई सम्मान गरे । त्यो ठाउँभन्दा मुन्तिर झोलुङ्गे पुलको सर्भेक्षण गर्ने कार्यक्रम स्वीक्रित भएको थियो । त्यो काम छिट्टै गर्न आग्रह समेत गरे । कार्यक्रम समापन र पुरस्कार वितरणपछि हामी नामासे गएर बस्यौं ।
भोलिपल्ट सबेरै नामासे गाउँबाट चेपुवाको लागि हिड्यौं । अरुणबाट २ घण्टा उकालो हिंडेर अघिल्लो दिन नामासे पुगिएको थियो ,भोलिपल्ट गाउँबाट २ घण्टा उकालो हिड्दा पनि चुचुरोमा पुग्न सकिएन । फुर्बु थिलेनले भने -‘सर यो बाटोलाई आकाश जाने बाटो भन्छन् । यो बाटो हिड्दा कतिपय कर्मचारी आत्तिएर फर्केर जान्थे । ‘ जसोतसो डाँदा काटेर रुकुमा गाउँ झरियो र खाना खाइयो । अनी पुन: अरुण तरेर साँझ चेपुवा पुगियो ।
भोलिपल्ट स्थानीय माविका प्रधानाध्यापक किङ्सन लामाको उपस्थितिमा चेपुवा र गुम्बा गाउँका बासिन्दाहरुको उपभोक्ता भेला गरियो । योजनाको बारेमा विस्त्रित छलफल भयो र इलेक्ट्रोमेकानिकल सामान ल्याउन हेलिप्याड तयार गरियो । अनि योजनाको काम थाल्ने तयारी पनि गरियो ।
घट्टेखोलाको पानीको दिस्चार्ज धेरै भए पनि हाम्रो कार्यक्रममा बढीमा ३० किलोवाट क्षमताको लघुजलविद्युत योजना मात्र सञ्चालन गर्ने नियमावली रहेको हुँदा सोही अनुसार डिजाइन र लई गरिएको थियो । त्यसपछि काम द्रुततर गतिमा अघि बढ्यो । कोही काठको पोल काट्न गए , कोही ढुङ्गा, गिट्टी ,बालुवा जमा गर्न लागे , कोही कुलो खन्न लागे ,कोही पावरहाउसको लागि काठको काम गर्न थाले । म दिनहुँ कामको निरीक्षण र सुपरिवेक्षण कार्यमा व्यस्त हुन थालें ।
म एउटा काठले बारिएको सानो कोठामा मासिक २०० तिरेर बस्न थालें । स्लीपिङ ब्याग र म्याट्रेस मात्र मसंग थियो । उपभोक्ताहरुले चौंरिपट फ्यार्पा र र पाखीको व्यवस्था गरिदिए । साथै भाँडाकुडाको जोहो गरिदिए । किमाथाङ्का र रिदाक गाउँका ब्यापारीहरुले चीनको डेन्डाङ बजारबाट नून्,तेल्,चामल्,ड्राइ भिजिटेबल बेच्न ल्याउथे । मैले सबै थोक किनेर आँफै पकाएर खान थाले । गाउँमा दाउरा लगायत कोदोको पीठो ,लेकाली रातो चामल ,कालो भट्ट , साग मुला ,अण्डा आदिन किन्न पाइन्थ्यो र सबै कुरा खाँदबारीको भन्दा सस्तो थियो । जाडो धेरै भएकोले एक हजार रुपैयामा डेन्डाङबाट ल्याइएको फेदर ज्याकेट पनि किनें । यसरी मङ्सिरको शुरुमा गएको म पौष १५ गतेसम्म बस्दा धेरै काम भएको थियो । पुष १५ बाट सबै मानिसहरु जडिबुटी बोकेर मधेश (काविला)झर्न थाले । पुष ,माघ र फागुन बिद्यालय पनि बन्द भयो । घर कुरुवा व्रिद्धब्रिद्धाहरु मात्र बाँकी रहे । खेतिपातीको काम सकेर हरेक वर्ष २ महिना हिउँ छल्न सबै काविला झर्ने गर्दा रहेछन् । मौसम पनि खराब हुँदै गयो र हिउँ पर्ने छाँट देखियो । निर्माण कार्य पनि रोकियो । फागुनबाट काम शुरु गर्ने निर्णय गरेर म पनि खाँदबारी झर्ने भएँ । मलाई एक १२ वर्षीय बालक (लाक्पा पाचेको कान्छो छोरा) साथी पठाइयो । ऊ पनि जाडो छल्न खाँदबारी दिदीको घरमा जाने रहेछ । हामी हिंडेकै दिन नामासे लेकमा हिउँ पर्न शुरु गरिसकेको थियो । लेक लेकमा हिउँ र बेशीतिर झरी छिचोल्दै हामी ३ दिनमा खाँदबारी आयौं ।
पछि फागुन १५ बाट काम फेरि शुरु गरियो । यसपाली नामासेका एकजना सिकर्मी र डकर्मी दुबै काम गर्ने व्यक्ति( जसलाई हाम्रो अफिसले तालिम दिएको थियो ) लाई पनि काम गर्न बोलाइयो । उनी मसँगै बस्ने भए । मैले सामानको जोहो गर्ने र उनले भान्साको काम पनि गरिदिने सहमति भयो । असारसम्म हामीले धेरै काम गर्यौं । तर ठेकेदार (फेब्रिकेटर कम्पनी ) ले सामान भने ल्याउदै ल्याएन ।
ताप्लेजुङ् र संखुवासभाका उत्तरी भेग असुरक्षित भएको जनाउदै निजी हेलिकोप्टरले उडान भर्न नमानेकोले सामान आउन भएको रहेछ । पछि काँग्रेस नेता तारामान गुरुङको पहलमा नेपाली सेनाको हेलिकोप्टरमा सामान ढुवानी गर्ने कुरा मिल्यो । सेनाले पनि पहिला ठाउँँ निरीक्षण गरेर मात्र उडान भर्ने सहमति जनायो ।
वर्षायाममा हिमाली भेगका पहाडहरु बादल र कुहिरोले ढाक्ने हुँदा मौसम सफा भएको मौका छोपेर मात्र उडान भर्नु पर्ने अवस्था आउथ्यो । नेपाली सेनाले खाली हेलिकोप्टर चेपुवा पुर्याएर निरीक्षण गर्यो र सामान ढुवानी गर्यो । गाउलेहरु हर्षित भए र पाइलोटलाई लेकाली आलु लगायत धेरै वस्तुहरु उपहार दिएर पठाए ।
चेपुवा बस्दा म बेला बेलामा 3 घण्टा हिडेर हुङ्गुङ् गाउँ जाने गर्दथें । हुङ्गुङमा स्काइ (सिम ) टेलिफोन थियो । त्यहाँबाट म अफिस र घरमा संपर्क गर्ने गर्थें । असार सकिएपछि आर्थिक वर्ष पनि सकिएकोले र वर्षाको समय भएकोले सामान ढुवानी बाहेक अरु काम हुन सकेन ।
असारबाट आर्थिक वर्ष समाप्त भएको र दसैंं तिहारसम्म बजेट तथा कार्यक्रम नआउने भएकोले मैले यो समयमा खाँदबारी बसेर कम्प्युटर सिक्ने निधो गरें । दुई महिनामा अफिस प्याकेज र इन्टर्नेट सेवा सम्बन्धी सबै कुरा सिकेर बसें । यसै बीच भदौ महिनामा मेरो धादिङ सरुवा भयो । मलाई जिल्लाका नेताहरु तथा उपभोक्ता समितिका मान्छेहरुले निर्माणाधीन योजनाहरुको काम सकेर मात्र जान अनुरोध गरे । तर आफ्नो घरनजिक सरुवा भएकोले मलाई छिट्टै नै रमाना लिएर जान मन लाग्यो र दसैंं अघी नै रमाना लिएर धादिङ आएँ ।
अहिले संखुवासभामा ५ नगरपालिका र ५ गाउपालिका रहेका छन् । विराट्नगरको जोगवनी देखिन संखुवासभाको किमाथाङ्कासम्मा कोशी राजमार्ग निर्माणाधीन अवस्थामा रहेको छ । निर्माण कार्य रोकिएर अलपत्र परेको अरुण तेस्रो जलविद्युत आयोजना पुन शुरु भएर ४० प्रतिशत काम पूरा भएको छ ।
संखुवासभाको सम्झनासंगै मलाई दुइजना मान्छेको सम्झना ताजा भएर आउछ । एकजना जगत्लाल श्रेष्ठ हुन् । सब ओभरसीयरको रुपमा पञ्चायत कालमा भोट्खोला क्षेत्रमा घोडेटो बाटो निर्माण कार्यमा सरिक् भएका उनलाई राजा वीरेन्द्रको भर्मण् हुँदा स्थानीय बासेन्दाले ‘सरकार यसलाई इन्जिनीयर बनाइपाउँ ‘ भनी विन्ती जाहेर गरेका थिए र हुकुम प्रमाङ्गी ( हुप्र ) बाट उनी इन्जिनीयर भएका थिए । त्यस्तै अर्का हुन् नुम गाविसका पूर्व अध्यक्ष मोहनसिंङ् राई । उनी नपढेका इन्जिनीयर भनेर चिनिन्थे । झोलुङ्गे पुलको सर्वे र निर्माण कार्यको बारेमा राम्रो ज्ञान र अनुभव भएका उनी ७० वर्ष पार गर्दा पनि बिकास निर्माण कार्यमा खटिरहन्थे । अक्करको भीरमा सडक निर्माणको क्रममा भीरबाट खसेको धुङ्गाले लागेर ७४ बर्षाको उमेरमा उनको निधन भयो ।
मैले संखुवासभा छोडेको पनि १३ वर्ष भएको छ । तर त्यहाँका गाउबस्ती र हाटबजारमा घुमेको हिजोजस्तै लागेर आउछ ।सम्झनाका तरेलीहरुमा भोटखोलाको सम्झना अरुण(फुङ्चु ) को पानी जस्तै निर्मल र पवित्र रहेको छ ।