Logo

“नेपाल अब नेपाल नही रहेगा”


‘नेपाल अब नेपाल नही रहेगा…!’

यो भनाइ ॐ प्रकाश इन्नाणीको हो । उनी भारतीय नागरिक हुन् । ब्रिज गोपाल इन्नाणीका सहोदर दाइ । १० वर्षदेखि नेपालमा बस्दै आएका थिए उनी  । ब्रिज गोपाल इन्नाणी त्यो समयका जल्दाबल्दा तयारी पोशाक व्यवसायी । काठमाडौँको नयाँबानेश्वर स्थित महालक्ष्मी गार्मेण्ट र स्टाइलिस एपेरलका मालिक । करीब १५०० कामदारका रोजगारदाता । नेपाली तयारी पोशाक उद्ध्योग सँघका तत्कालीन अध्यक्ष ।

उनी प्रायः सेमिनार र मिटिङमा नै व्यस्त रहन्थे । कहिलेकाहीँ दौरा सुरवाल र नेपाली टोपीमा सजिएर नेपाली कविता वाचनगर्न हिँड्थे । उनी शुद्ध नेपाली बोल्न सक्दैनथे तर कविता भने वाचन गर्थे । सरस्वतीको वरदान पाएपछि राम्ररी नेपाली बोल्न नसके पनि लेख्न चाहिँ सक्दोरहेछ भन्ने एउटा ज्वलन्त उदारहण थिए उनी ।

उनै ॐ प्रकाशले व्यवसाय समालेका थिए । २०४६ साल जेठ ८ गते नेपालमा  प्रजातन्त्र पुनर्वहाली भयो । भोलिपल्ट म उनको अफिसमा गएको थिएँ । मलाई देख्नेबित्तकै उनी हठात् बोले– “बर्बाद हो गया रामजी, बर्बाद हो गया !” क्या हो गया भाइसाहेब ? मैले सोधेँ । “नेपाल अब नेपाल नही रहेगा !”  फेरी सोधेँ “क्युँ “?

“राजतन्त्रमे वस, एक राजा काबिल होने से चलता है, लेकिन प्रजातन्त्र मे पुरा जनता काबिल होना चाहिए । तभी आपना सही नेता चुन सक्ते  हैँ । ओ सही नेताओने सही ढङ्गसे देश चला सक्ता है । अभी समय नही आया है नेपाल मे बहुदलिय व्यवस्था लागु करने के लिए । क्युँकि १०४ साल राणाओ ने, उसकेबाद पन्चायत ने जनताको दबा के रखा था । फिर कहाँसे जनता सिख पाएगा ? चिडियाघरसे जनावरोँ को बाहर निकल्नेका मौका मिलेगा तो गाउँ शहर यत्रतत्र भागता हि रहेता है । ओइसाही अब नेपाली जनता बेलागाम हो जाएगा स्वतन्त्रता के नामपे ।

बहुदलीय व्यवस्था दुनियाँमे सब से बेहतरिन पद्दति हे ।  लेकिन, समझ्ने के खुबी नागरिक मे होना चाहिए । कुछ सालके बाद आप्ने आप समझ जाओगे । और मै क्या बोलुँ ।” लामै भाषण सुनाए उनले । साँच्चै नेपालप्रतिको चिन्ता हो त उनको ? आश्चर्यमा परेँ म ।

थाहा छैन, मेरा कति पुस्ता नेपालको माटोमा बिलाए । नेपालीलाई भन्दा एउटा मारवाडीलाई यो देशप्रतिको चिन्ता देखेर अचम्म लागिरहेको थियो मलाई । प्रजातन्त्र पुनर्वहाली गर्नकै लागि २०३६ सालदेखि अनवरत आन्दोदलनमा होमिएको थिएँ म आफैँ  पनि । यो विषयमा उनीसँग केही बेर वहस गर्न मन थियो । तर कार्य व्यस्तताका  कारण सम्भव थिएन । के हामी नेपाली उनले भने झैँ प्रजातन्त्र चलाउनका  लागि काबिल छैनौँ त ? मैले उनीसँग गरेको कारोबारको भुक्तानी लिएर फर्कंदै गर्दा आफैँलाई प्रश्न गरेथेँ ।

बेलुका घरमा बियरको बिर्को खोल्दै गर्दा दिमागमा बन्द गरेर राखेका उनका कुराहरू पनि खुल्न थाले । “के भयो आज मेरो बुढोलाई ?” मलाई मायालु भावमा बुढीले सोधिन् । सितनको टुक्रा मुखमा हालेर चपाउँदै मैले भने, “मारवाडीहरूलाई हाम्रो देशमा बहुदलिय प्रजातन्त्र आएको मन परेको रहेनछ ।”

“ती भारतीयहरूलाई के मतलव हाम्रो देशको बारेमा ?” झनक्क रिसाउँदै उनले भनिन् । पद्मकन्या क्याम्पसकी विद्यार्थी उनी । सकृय थिइन् पञ्चायत ढाल्नका लागि । स्वभाविकै थियो उनको आक्रोस । उनको कुरामा सही थापेँ मैले । मारवाडीले भनेको कुरामा मलाई घोत्लिन बाध्य पा¥यो ।

मारवाडीहरूले चिन्ता मान्नुपर्ने मुख्य कारण त राजदरबारको छत्र छायाँमा बसेर ठुलाठुला नाफामूलक व्यावसाय गर्न पाएका थिए । राजा महेन्द्रले सिङ्गापुरबाट महेन्द्र खेतानलाई नेपाल आएर व्यवसाय गर्न अनुरोध गरेपछि इतीश्री भएको मारवाडी चहलपहल यति बढ्न पुग्यो कि ठुला व्यावसायहरुमा उनीहरूको मात्र अधिपत्य हुन थाल्यो ।

श्री डिस्टिलरी, कोकाकोला, पेप्सीकोला, शान्ती घ्यू जस्ता ठुलाठुला व्यावसाय मात्र होइन, सुन तस्कर, डलर सटही जस्ता अवैध धन्दामा पनि उनीहरूकै अघीनमा थिए । खुद्रा ब्यापारहरूमा नेपालीहरूमध्ये नेवारी समुदायको बर्चश्व देखिन्थ्यो ।

भारतबाट एउटा लोटा लिएर आएका रामलाल गोल्छा,  ४० हजार भा. रु. लिएर नेपाल छिरेका इन्नाणी, र अन्य मारवाडीहरू मित्तल, खेतान,अग्रवाल, गोल्छा , धारिवाल , सँघाइ आदिले  आफ्नो औकात ह्वात्तै  बढाएपछि नेपालामा उनीहरूप्रतिको दृष्टिकोण फरक हुँदै गयो । सर्वसाधारणको मात्र नभएर बैङ्कहरूको पनि । उनीहरूलाई सहज् कर्जा दिन थाले ।

राजस्थानका बच्चालाई “बडा हो के क्या करोगे बेटा” भनी सोद्धा “नेपाल जाके बिजनेस् करके बडा उद्यमी बनेङ्गे” भन्छन् भनेका थिए ईन्द्रचोकका साडी पसले मारवाडी छगनलालजीले ।

भारत हुँदै पानी जहाज चडेर सिङ्गापुर छिरी पत्थर र जडिबुटी बेच्ने काम गरेका मनाङेहरूलाई राजा महेन्द्रले विदेशबाट सामान ल्याएर बेच्ने सल्लाह दिएका थिए । जस्का लागि भन्सार छुट सुविधासमेत दिलाएका थिए । तत्पश्चात मनाङेहरू काठमाडौँमा व्यापारीको रुपमा चिनिन थाले । उनीहरूको काठमाडौँमा बस्ती बढ्दै गयो । पछि मारवाडीहरूले पनि यो काम सुरू गरे । उहिले झिटीगुन्टा गर्नेहरू अहिले प्रायः ठुला व्यवसायी भइसकेका छन् ।

राजा शक्तिमा रहँदासम्म मारवाडीहरू संरक्षित थिए । राजा शक्तिहीन भएपछिे संरक्षक गुमाए झैँ भएर ॐ प्रकाश इन्नानी छट्पटिएका होलान् जस्तो मात्र लागेको थियो मलाई ।

तर विस्तारै यसको असर हरेक क्षेत्रमा पर्न गयो । प्रजातन्त्रले स्वतन्त्रता ल्यायो । यो स्वागत योग्य थियो । तर उपयोगकर्ताले यसको महत्व बुझ्न सकेनन् । मानवअधिकारवादीहरू अरूलाई पनि उचाल्दै हिँडे ।

करोडौँको लगानीमा उद्योग धन्दा चलेका हुन्छन् । त्यही काम गर्ने मजदुरहरू आफ्ना नेता जिन्दावाद उद्योगका मालिक मुर्दावाद जस्ता नारा लाग्न थाले । अफिसमा हाकिमले आफ्नो पिउनलाई कुनै काम गराउँदा पनि हच्किने पर्ने अवस्था आउन थाल्यो ।

आफुमा आश्रित परिवारजन या आफुभन्दा निम्न तहका कर्मचारीहरूलाई माया गर्नु, सभ्य तथा समान व्यवहार गर्न सक्नु आजको आवश्यकता हो । मानव अधिकारको मर्म पनि हो । तर आफ्नै बाउ, आफ्नै रोजगार दाता , आफ्नै हाकिमका सामु अभद्र व्यवहार र अधिकारको नाममा मर्यादामा नबस्नु नै प्रजातन्त्र हो त ?

हरेक सोझा साझा जनतामा पनि सचेतना जगाइदिनु राम्रो कुरा हो । आश्रित भएर बाँच्न हुँदैन भनी सिक्षित बनाउनु पनि ठीक हो । तर आश्रित  नभैकन बाँच्ने उपाय सिकाउन पनि पर्यो नि ! बाउ हुनु, लोग्ने हुनु, हाकिम हुनु या रोजगारदाता हुनु नै अभिशाप जस्तो भान हुन थाल्यो । यही हावाले कतिका घर परिवार भाँडियो, कती उद्योगधन्दा धरासायी हुँदै बन्द भए ।

चोभारको सिमेन्ट कारखाना बन्द भएको आज दशक नाघिसक्यो तर श्रमिकहरूको युनियन अझ पनि सकृय छ । बन्द रहेको त्यो उद्योग कसैले किन्न चाहे भने त्यही युनियनको सर्त मान्नुपर्ने हुन्छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । यस्तो समस्या त नेपाल भरि सयौँको सँख्यामा रहेका छन् ।

बुटवल धागो उद्योग, हेटौँडा कपडा कारखाना, गोरखकाली रबर उद्योग, बाँसबारी छालाजुत्ता, शाही औषधी लिमिटेड, भृकुटी कागज, हेटौँडा सिमेन्ट, रघुपती जुटमिल  आदी जस्ता सफल उद्योगहरू एकाएक किन बन्द भए ? किनभने नेपाल आफ्नै खुट्टामा उभिएको देख्न नचाहने विदेशी शक्तिले नेपालका गद्दार नेताहरूलाई गुलियो चटाए । अनि उद्योगहरू बन्द गराए ।

एकैचोटि देश नै कप्लक्क पार्नु पर्दो रहेनछ I कहिले भाषा, कहिले वेषभुषा कहिले संस्कृतिको प्रभाव छर्दै अघि बढ्ने पनि उपाय हुंदो रहेछ । सुन्दर नेपाली पोशाक दौरा–सुरुवाल, ढाका टोपीमा सजिएका सांसदहरू देख्दा कति गर्व लाग्थ्यो । आज कुर्ता पायजामा लगाएर सांसदहरूले हिन्दीमा भाषण गर्न थालिसके । राष्ट्र भनेको भूगोल मात्र होइन, भूगोलभित्रको भाषा, संस्कार, कला, संस्कृति पनि हो ।

भारतका प्रधानमन्त्री मोदी अमेरिका आउँदा भारतीय पोशाक कुर्ता पायजामामा ठाट्ठिएका थिए । उनका लागि ह्वाइट हाउसमा भएको रात्रीभोजमा साकाहारी भोजन राखिएको थियो । यो हो नि राष्ट्र र राष्टियताको सम्मान ! तर, राम्ररी टाई बाँध्न नजान्ने नेपाली नेताहरू टाईसुटमा ठांट्टिन खोजेको देख्दा उदेक लाग्छ ।

जनता–जनताका बीच अनेक बहानामा फाटो ल्याइयो । कहिले जात जातीको नाममा त कहिले धर्मको नाममा । नेपालमा पहिले यति जातजाति थिएनन् र ! पहाडी, मधेसी थिएनन् र ! विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल र त्यहाँका राजालाई विष्णु अवतार मानिनएको थिएन र !

राजदरबारको मुखैमा अवस्थित घण्टाघरमा रहेको मस्जिदमा सला पढ्दा कसलाई डिस्ट्रब भएको थियो र ? साउदी अरबको मक्का मदिनामा हज गर्न जाने मुलाजीलाई नेपाल सरकारले हावाई टिकटसहित खर्च दिन्थ्यो । त्यही पापले राजतन्त्र सिद्दिएको हो र ?  मुसलमान जति नराम्रो भने पनि करीब ३० लाख नेपाली युबायुबतीहरू त्यही धर्म मान्ने देशमा बसी आफू र आफ्नो परिवारको उज्जल भविश्य बनाउंदै छन् ।

राम्रो  र सस्तो उपचार सुविधा भएको शान्ताभवन अस्पतालको बेडको सिरानीमा राखिएका बाइबलले कस्को धर्म लुछेको थियो र ? सेन्टमेरिज र सेन्टजेभियरले धुरन्धर  विद्यार्थीहरू तयार पारे । आफ्नै देशमा लग्न भनेर त होइन नि । राष्ट्रले अवसर दिनै सकेन त के गरुन् ! विदेशमै आफ्नो खुबीको सान्दार उपयोग गरिरहेका छन् । कोही डाक्टरको रुपमा त कोही इन्जिनियरको रुपमा ।

अहिले हिन्दू धर्म छोडेर अरु धर्ममा जाँदा आपत्ति जनाउँछन् । माया र सम्मान जस्ले दिन्छ उसको नजिक पर्छ प्राणी । मानव मात्रको स्वभाव होइन यो । पशु–पँछीको पनि हो । अरु धर्मकाले आफ्ना मान्छे लगे भने उनीहरूलाई फर्काउने कोशीस गरौँ न । अरु धर्मकाले दिए जस्तै माया र सम्मान  दिन सकौँ त को फर्किदैनन् ? त्यसो गर्न पनि नसक्ने र अन्त जान पाउँदैनौँ पनि भन्ने ? कसैको स्वतन्त्रताको हनन् गर्न मिल्छ र प्रजातन्त्रमा ?

यो हिन्दू राष्ट्र हो । यहाँ हिन्दूहरू मात्र बस्न मिल्छ भन्ने हो भने ठिकै छ । अन्य धर्म अवलम्बन गरेकाहरूको सम्पत्तिको मुवाब्जा दिऊँ । तत्तत् देशमा बस्न पाऊँ भनी उनीहररूले आवेदन दिन्छन् । यो संसार त्यस्तालाई स्विकार्ने देशहरू धेरै निस्कने छन् ।

प्रजातन्त्रमा त शान्ती सुरक्षा अमन चयन, स्वतन्त्रता आदी सुनिश्चित हुनुपर्ने होइन र ? कहिले निर्मला जस्ता कैयौँ किशोरिहरूको बलत्कार पछी हत्या गरिए, कहिले नवराज बिक जस्ता कैयौँ दलितहरुलाई बिभेद गरी  हत्या गरिए । खोइ सुरक्षा ? खोइ दण्ड दिने न्यायालय ?

सुरक्षाको कुरा त गर्नु र त्यो देशको । जुन देशका जनप्रिय राजा लगायत पुरा बंसकै २०५८ साल जेष्ट १९ गते राती हत्या गरियो । राजा र राजपरिवारको सुरक्षा त गर्न नसक्ने सुरक्षा निकाय र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी काठघरामा उभ्याउन नसक्ने न्यायलयबाट अरु के अपेक्षा राख्नु र ?

“संसारका कुनै पनि सेना सँग लड्न म रत्तिभर डर मान्दिन तर नेपाली सेनाको नाम सुन्नासाथ मेरो मुटु थर्कन्छ” भन्ने जर्मनका सम्राट कैजर विलियम आजसम्म जीवित  भएको भए र नेपालका राजालाई उनैका सेनाले सुरक्षा दिन नसकेको खबर सुन्नुपर्दा कस्तो लाग्थ्यो होला ?

नेपालका प्रधान सेनापति भारतका सेनाका मानार्थ सेनापति हुन् । यसको मतलब नेपालको सुरक्षा आफ्नो कार्यक्षेत्रमा पर्दैन भन्ने लाग्छ भने हाम्रो अरु केही भन्नु छैन । नत्र सिमानाका पिलरहरू आफ्नो भूमि भित्र सारिरहने भारत विरुद्ध किन केही गर्दैनन् ?

हुनत, नेपालको राजनीतिक हस्तक्षेप राष्ट्रको अत्यन्तै सम्वेदनशील क्षेत्र सुरक्षा र न्यायालयमा पनि परेको छ ।  हामी अभागी नेपाली जनता जहाँ न्याय दिलाउनेहरू आँफै कुटाकुट गर्छन् । हामी कलेज पढ्दाताका भिन्नभिन्न राजनीतिक  खेमाका विद्यार्थीका बीच कति भिडन्त देखियो, कतिमा आँफै पनि भिडियो ।

बेलाबेलामा सांसद भवनमा धकेलाधकेल र कुर्ची हानाहान देखिएकै हो भने आज  न्यायालयमा नै हानाहान गरेको पनि देखियो । त्यही विद्यार्थी राजनीतिको ह्याङ्गओभर अझै पनि छुट्न सकेको छैन । यो पुस्तामा छुट्दैन पनि  । त्यसैको रुप हो यो न्यायको आस्थाको मन्दिर सर्वोच्च अदालत परिसरमा भएको कुटाकुट ।

न्यायालयमा राजनीतिक हस्तक्षेप हुनु हुन्थेन । तर भइरहेको छ । यसको कारण राष्ट्रप्रेमको मर्म बुझ्ने सचेतना नेपालीहरूमा अहिले सम्म पनि आइसकेको रहेनछ । “भाई फुटे गवा लुटे” भने झैँ बाहिरी चलखेल बढि हुन थाल्यो । कहिले उत्तरको, कहिले दक्षिणको हुँदाहुँदा पश्चिमको पनि ।

अब यही शासन पद्धतिबाट देशले निकास पाउनसक्ने आधारको अन्त भइसकेको छ जस्तो भान हुन थालको छ । यी यावत अवस्थाहरू देखि रहनु पर्दा अब मलाई स्पष्ट भयो कि ती मारवाडी ॐ प्रकाश इन्नाणीको “नेपाल अब नेपाल नही रहेगा” भन्ने भनाइले के उद्धृत गर्न खोजेको रहेछ भनेर !

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)