Logo

झल्यास्स ! ( लघुकथा )


झल्यास्स ! 

साउनको अन्तिम सोमबार,गृहलक्ष्मीको भित्री चाहना–पशुपति नगई सुख पाइएन । निकै लामो लामपछि ठेलम्ठेल गर्दै दक्षिण ढोकाबाट प्रवेश गरियो । म निस्कन खोज्दै थिएँ,भीडले भित्रै थिच्यो,घचेटेयो । म हुत्तिएर शिवलिङ्ग अगाडि घोप्टिएँ । हातले शिवलिङ्ग स्पर्श गरेँ । अकसमत आकाशवाँणी भयो । म साक्षात् शिवका सामु पुगेँ । सास्टाङ्ग दण्डवत् गरेँ । शिवले हात उठाउनु भयो । म धन्य भई प्रसन्न थिएँ । शिव सम्पूर्ण शस्त्रअस्त्र लिई साँढेमा विराजमान भएर हिड्न खोज्दा मलाई मनमा कौतूहलले कुत्कुत्यायो । डराई डराई सोधेँ–हे,प्रभु ! वाहनसाहन सहित कताको सवारी होला? मन ज्यादै खुल्दुलीमा प¥यो प्रभु ! मर्जी भए कृतार्थ हुने थिएँ ।’

चिन्तित र खिन्नमुद्रामा आँखामा रगतका आँसु टल्पलाउँदै अलिकति भित्र आक्रोश मिसिएझैँ थरथरी काँप्दै भन्नु भयो–‘उफ्,कसरी भनूँ? नभनूँ त अरु कसैलाई भेट्ने होइन । ल, सुन यत्रतत्र फोहोरको डङ्गुर छ । वस्ती, समाज, शासन, प्रशासन, राजनीति, व्यवस्था, अवस्था सबै गनाइ रहेकाछन् । मानवता पलायन भयो । जताततै असुरराज चलेको छ । मान्छे भित्र मानवता छैन । हिमालको हिउँगल्यो । आकाशगङ्गामा प्वाल प¥यो । सभ्यताका सूर्यमा रात पोतियो । त्यसैले अब मृगस्थली सहित पशुपतिबाट बसाइ सरी नेपालमा नबस्ने निर्णयमा हामीपुगेका हौँ ।’

भगवान शिवको उत्तर सुनेर चिन्तित हूँदै भनेँ–हे, प्रभु ! महेश्वर !! हजुर नभए हाम्रो के अस्तित्व? कृपा गरी नेपाल नछाडौँ प्रभु ! भन्न मात्र के भ्याएको थिएँ जटाबाट जलका धारा छर्कदै – “यो देवलोकको निर्णय हो । तँ नै अन्तिम मानिस होस् जसले मलाई नेपालमा अन्तिम पटक भेट्ने सुअवसर प्राप्तगर्न सफल भइस् मनुवा ! अब असलकाम गरेर आउने सौभाग्य पाइस् भने शिवलोकमा भेटौँला, तथास्तु” भन्दै विलीनहुनु भयो । म झल्यास्स बिउँझिएँ । घण्ट बजिरहे – टिङ्….टिङ्..टिङ् । भीडबाट गृहलक्ष्मीले च्यप्प हात समातेर तान्दै रहिन् । म चकितमनले सम्भिल रहेँ– पशुपतिको पलायन !!

– युवराज मैनाली

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)