Logo

सिरिरिरि हावा छिम्केश्वरी डाँडैमा ( नियात्रा )


सिरिरिरि हावा छिम्केश्वरी डाँडैमा

‘गाडी त यहाँँसम्म मात्र हो। अब आधा घन्टा जति हिँडनुपर्छ।’ अवगत गराए अनिल श्रेष्ठले।

लाब्दीबाट उँभो लागेपछि ठूलोढुङ्गा पुगेर टुङ्गिन्छ, आँबुखैरेनी–छिम्केश्वरी छोटी राजमार्ग। लाब्दी र भोटेस्वाँरा दुईटै गाउँको सिरान हो– ठूलोढुङ्गा। यति बेला हामी छिम्केश्वरी डाँडाकै फेदीमा आइपुगेका छौँ। जीपले आँबुखैरेनी ५५० मिटरबाट लगभग १८०० मिटरको उचाइमा ल्याइपुर्‍याएको थियो हामीलाई।

मज्जाले पिङ खेलियो जीपभित्र। शरीर थाम्न त कठिन। बाटोमा देखिएका दृश्यहरूका तस्बिर लिनु त परको कुरा। यस्तै हुन्छ– कच्ची सडकको यात्रा। त्यसैले त मेरो मनले पनि भनिरहेथ्यो– ‘ज्यानलाई यसरी सास्ती दिनुभन्दा त बरु हिँड्नु नै जाती।’ नभनेको मात्र हो मैले। १९ किमि यात्राभर उचालिने र पछारिने गर्दा गर्दै थिलथिलो भइसकेको थियो मेरो शरीर।
०००

फगत् संयोग हुन्, जीवनमा गरिने यात्रा। कसैसित हुने अकस्मात भेट अर्को संयोग हो, यद्यपि विचित्रका हुन्छन्, कतिपय संयोग। जीवन यात्राभित्रको यात्रामा यस्तै एउटा मिठो संयोग बन्न पुग्यो, बाल वाङ्मय तथा अनुसन्धान केन्द्र, काठमाडौँ परिवारसितको भेट। तीन दिनदेखि सहयात्री भइरहेछौँ हामी। यात्रामा सामेल छन्– अध्यक्ष– प्रमोद प्रधान, सल्लाहकार– सिर्जना शर्मा, महासचिव– अनन्त वाग्ले, सचिव– मञ्जु ज्ञवाली, कोषाध्यक्ष– शान्ति सापकोटा र सदस्यहरू – तारानिधि भट्टराई, केशरी अम्गाईं, रविन्द्र मानन्धर, सुमन के.सी., केदार श्रेष्ठ, विवेक लामा, धनुसोमै मगर, क्रान्ति पाण्डे, स्वर्णिमराज लम्साल र विजयराज आचार्य।

उनीहरू बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको कार्यक्रमका लागि आँबुखैरेनी आएका। म भने मेरै पछिल्लो नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’को परिचर्चाका लागि आएको। दुवैको कार्यक्रमको तारतम्य मिलाएका थिए, आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले। यति बेला मेरै कृतिको परिचर्चा गर्न छिम्केश्वरी आरोहण गर्दैछौँ।

आँबुखैरेनीबाट जोडिएका छन्– कवि जमुना श्रेष्ठ, शिव आर्य, आकाश अधिकारी र प्रोल्लास सिन्धुलीय। र, साथ दिएका छन्– लाब्दीका लक्ष्मण गुरुङ, सूर्यमान गुरुङ र फूलमाया गुरुङले। मध्याह्न भइसक्छ ‘हाइकिङ’ सुरु गर्दा। दुईथान जीपबाट ओर्लेका हामी बाईस जना ‘हाइकर’को लर्को लाग्छ, छिम्केश्वरीको उकालोमा। लर्कनको सबैभन्दा पछाडि छु म। हिँडन्ताहरू त लमकलमक लम्कन थाल्छन्। उकालोले पछि पार्दै लान्छ साठी वसन्त नाघेका सिर्जना शर्मा र प्रमोद प्रधानलाई। बिस्तारै पछि पर्छन् जीवनमा उकालोबाट ओझेल परेका मञ्जु ज्ञवाली, शान्ति सापकोटा र जमुना श्रेष्ठ। उकालोसित सङ्गत गर्न छाडेपछि मान्छे उकालोमा पछि पर्दोेरहेछ भन्ने एउटा दृष्टान्त हो यो।

भुईंकुहिरोलाई आँबुखैरेनीमै छाडेर एकाबिहानै कुलेलम ठोकेका थियौँ हामी। कुहिरोले हाम्रै पदचापलाई पछ्याउला भन्ने त्रास थियो मेरो मनमा। तर भाँगे आइपुग्दासम्म पनि बेसीमै मस्त निद्रामा थियो कुहिरो। नत्र घामले पनि यसरी पहाडभरिभरि ढलीमली गर्ने अवसर कहाँ नै पाउँथ्यो र! त्यही बेला मेरो नजरमा बसेको थियो सुन्दर छिम्केश्वरी। यहाँसम्म आइपुग्दा छिम्केश्वरी मेरो मनभित्र मस्त निदाइरहेको छ।

उज्जर देखिन्छन्– छिम्केश्वरीकै वात्सल्यमा हुर्किरहेका भोटेस्वाँरा, हिलेखर्क, लाब्दी र घलेडाँडास्थित गुरुङबस्ती। लमजुङको घलेगाउँ र घनपोखरा, कास्कीको घान्दु्रक, छोमरोङ र पञ्चासे, उत्तरी धादिङको तिप्लिङ, सेर्तुङ र चालिसका गुरुङबस्तीमा कैयन् रात बिताइसकेको छु मैले। तमु संस्कार र संस्कृतिमा भिजेको छु। खुब मनपर्छ मलाई घाँटु नाच। गीतको लय र मादलको ताल। घाँटुसरीहरु नाचेको, बेहोस भएको र तिनलाई गीत र मादलको तालले ब्यूँझाएको झझल्को आइरहन्छ। एक रात लाब्दीमै बास बस्न पाएको भए यो नाच हेर्न पाइन्थ्यो भन्ने लागिरहेछ मनमा। समयको सीमाले कहाँ पो अनुमति दिन्थ्यो र !

पारिलो घामले पोतिएको थियो, अक्लाङको आँगन। पुरुषहरू आँगनकै डिलमा बसेर बिहानीको न्यानो ताप्दै थिए। महिलाहरू कोही पिठ्यूँमा थुन्से बोकेर बारीमा कोदाको कपनी टुपुटुपु टिप्दै थिए त, कोही धमाधम नल काट्दै। घरेलु जिम्मेवारी जो पूरा गर्दै थिए ती। त्यो देख्दा मेरी आमाले खोरियाबारीमा कोदो टिपेको याद आएथ्यो। दिदी र दाइ नल काट्थे। म नललाई मुठा पारेर सकीनसकी घरसम्म ल्याउथेँ। एकचोटी नल काट्ने रहर गर्दा हँसियाले कान्छी औँला काटेको अहिल्यै जस्तोे लाग्छ। यस्तैयस्तै दृश्यले मेरो विगत सम्झाइदिन्छ। र, यस्तैयस्तै सम्झनाले प्रिय बनाइदिन्छ अतीतलाई।

सजिलो त कहाँ छ र कोदो बाली भित्र्याउन! सबभन्दा पहिले त बिउ छर्नुपर्छ। तीन हप्तापछि रोप्नुपर्छ। कम सकस हुँदैन, मकैबारीभित्र कोदाली खन्न। फेरि गोड्नु त छँदैछ। बाला टिपिसकेपछि पनि मज्जाले सुकाउनुपर्छ घाममा। लाठोले ड्याम्ड्याम्ती चुट्नुपर्छ। फेरि घाममा सुकाएर ढिकीमा फल्नु पर्छ र निफन्नुपर्छ नाङ्लोमा राखेर। पिठो पिँध्न घट्टसम्म लानुपर्छ। अनि मात्र ताप्केमा ओडाल्ने हो ढिँडो। स्वास्थ्यका लागि त असाध्यै लाभकारी हो कोदो तर साह्रै झन्झटिलो।
०००

मैले त सोचेकै थिइनँ, लाब्दीमा आइपुग्दा त्यति भव्य स्वागत होला भनेर! देवीलाल गुरुङको होमस्टे नं. १ मा आइपुग्दा परम्परागत पोशाकमा सजिएर लामबद्ध भई हामै्र स्वागतार्थ उभिइरहेका थिए– दिलमाया, फूलमाया, एकमाया, स्वीकृति, नवीना, सूर्यमान र लक्ष्मण गुरुङलगायतका गुरुङ दाजुभाइ दिदीबहिनीहरू। पातलो बस्तीमा यत्रो उपस्थिति! छक्कै परेथेँ म।

उनीहरूले हाम्रा निधारमा सेता अक्षता टाँसिदिए र गलामा पहि¥याइदिए फूलमाला। अक्षताको अर्थ ‘नाश नहुने’ अर्थात् ‘अविनाशी’। यसैका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालेका हुन् हाम्रा पुर्खाले। चामल हाम्रो प्राणेश्वर। त्यसैले भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन अद्यापि छ हाम्रो समाजमा।

घामले पनि स्वागत गरेझैँ लाग्थ्यो लाब्दीमा। एकातिर घामको न्यानो स्वागत। अर्कोतिर तमुमनहरूको स्वागत। सत्कार र सम्मानमा नरम्ने को पो होला र! मान्छे र प्रकृतिको न्यानो आतिथ्यमा रमेथ्यौँ हामी। साँच्चै, हामी यति खुसी भएका थियौँ कि– त्यति त अचेलका मन्त्रीहरू पनि हुन्नन् होला पिर्के सलामी लिँदा!

घामले पनि स्वागत गरेझैँ लाग्थ्यो लाब्दीमा। एकातिर घामको न्यानो स्वागत। अर्कोतिर तमुमनहरूको स्वागत। सत्कार र सम्मानमा नरम्ने को पो होला र! मान्छे र प्रकृतिको न्यानो आतिथ्यमा रमेथ्यौँ हामी। साँच्चै, हामी यति खुसी भएका थियौँ कि– त्यति त अचेलका मन्त्रीहरू पनि हुन्नन् होला पिर्के सलामी लिँदा!

साहित्यकार र कलाकारहरूले ढाकिएको थियो देवीलालको आँगन। कुर्सीमा बस्न नपाउँदै आइपुग्यो, थालभरि भुटेको मकै, भटमास र साँदेको गुन्द्रुक। मेरो प्रिय परिकार हो– भुटेको मकै र गुन्द्रुकको अचार। यसले न्यास्रिएको थिएँ म। आज भने मज्जैले रहर पूरा गरेँ। बालवयमा गोठालोबाट फर्कनेबित्तिकै यसरी नै खाइन्थ्यो मकै। कहिले मोहीसित त कहिले गुन्द्रुकसित। यस्तै खस्रो मसिनो खाएरै हुर्केको हुँ। मेरो लागि कुनै भव्य होटलको मिष्ठान्न भोजनभन्दा कम थिएन त्यो। आखिर भोक मिठो न हो !

यतातिरको अन्तिम मानव बस्ती हो– लाब्दी। त्यसैले आजको लन्च यही हुन्छ भनेका थिए अनिलजीले। छिम्केश्वरी पुगेर फर्कंदासम्म पेटको आन्द्रा झुत्ती खेल्न थालिसकेको हुन्छ। यो उचाइको चिसोमा भातसित गुन्द्रकको तातो झोल पाए लोकल कुखुराका झोललाई बिर्साउनेथ्यो भन्ने कल्पना गरेथेँ मैले।

नेपालको नितान्त मौलिक खानेकुरा हो– गुन्द्रुक। यहाँ साग फल्छ, मुला फल्छ तर, हामी गुन्द्रुकमा आत्मनिर्भर हुन नसक्नुमा चाहिँ कम्ती आश्चर्य लाग्दैन मलाई। भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गर्नुपर्ने जस्तोे लज्जा अरू के होला र?

देवीलालको करेसामा फुलिरहेका छन् लालुपाते र खुर्सानी फूल। घरको पछाडिपट्टि झुलिरहेका छन् जुनार जस्तै लाग्ने ज्यामिरका पहेँला दाना। फूलका रङहरुमा बसेका मेरा नजर उठेर क्षितिजमा उभिएका हिमालहरूसम्मै पुग्छन्। म आँखालाई एकसय असी डिग्रीमा घुमाउँछु। सुन्दर लाग्छन्– पहाडका तरेली। सुन्दर लाग्छन्– पहाडमा कोरिएका सडकका रेखाहरू। सुन्दर लाग्छन्– पहाडले च्यापेका मानव बस्तीहरू। सुन्दर लाग्छन्– नागबेली परेका नदीहरू। हराउन पुग्छु म यी तमाम दृश्यहरूमा।

वारिपारि देखिन्छन्– समस्तरीय हरिया पहाडका लुँग र तलतिर देखिन्छन् फाँटिला बेसीहरू। बेसी भएर बगिरहिछिन् कर्मदा। बेसीमै भेट हुन्छन्– रोचक कथा बोकेका मादी र सेती। उनीहरू गाउँले दिदीबहिनी रे। दुवै अन्नपूर्ण हिमालतिरबाट बग्छन्। कृष्ण जन्माष्टमीमा भेट हुँदा दुवैले तीजमा माइत जाँदा सँगै जाने सल्लाह गरेका रे। दिदी चाहिँ बेलैमा हिँडिछन्। बहिनीलाई भने सासू मनाउन केहीबेर लागेछ। दिदी पुगीसकेकी होली भन्ठानेर बहिनी हतारिँदै पहाड छेडेर दौडेकी रे। मादी समयमै हिँडेकीले बाटामा घरी दाहिने, घरी देब्रे भएर फैलँदैफैलँदै गएकी थिइन् रे। यसरी जाँदाजाँदै दुवैको भेट दमौलीमा हुनपुगेछ रे। कस्तो अचम्मको कथा! नदीको बहाब क्षमतालाई अभिव्यक्त गर्ने कस्तो कायदा पूर्वजहरूको!

आतिथ्यका ढोका उघ्रिसकेका छन् लाब्दी र भोटेस्वाँरामा। हामीसँग मनोहारी दृश्यहरू छन्। मौलिक संस्कार र संस्कृति छन्। प्रकृतिलाई बिग्रन दिनुहुन्न। तमु संस्कृति र सम्पदाको जगेर्ना गर्न सक्नुपर्छ। जातीय संस्कारलाई बचाउनुपर्छ। नदीनालालाई प्राकृतिक रूपमै बग्न दिनुपर्छ। पदयात्रा गन्तव्यहरूलाई यथावत् राख्नुपर्छ। जैविक विविधितालाई जोगाउनुुपर्छ। बस्, यति गर्न सके पाँचतारे पर्यटकीय गन्तव्य (फाइभ स्टार टुरिस्ट डेस्टिनेसन) बनाउन सकिने ठाउँ हो– छिम्केश्वरी। अनि पो रोकिन्छ त दक्ष जनशक्ति पलायन हुने उपक्रम। सहयात्रीहरू आ–आफ्नै तालगाँठीमा रमाउँदै गर्दा एकालाप गरेथेँ मैले।

भाँगे आइपुगेर विशाल सिमलको हाँगाको कापबाट हेर्दा निकै माथि लाग्थ्यो छिम्केश्वरी चुली। फेदीबाट उँभो लाग्दा पनि माथि नै देखिन्छ छिम्केश्वरी।

छिम्केश्वरीको उकालो लागिरहेका छौँ। हलौँ चालले उकालिइरहेका सिर्जना दिदी र प्रमोद दाजुलाई भेट्न पुग्छु म। ‘स्लो एन्ड स्टेडी विन्स द रेस’ भने झैँ निरन्तर पाइला उठाइरहिछिन् सिर्जना दिदी। संलाप गर्न मन लाग्छ मलाई उनीसँग।

‘उकालो हिँड्न कठिन भएको त छैन दिदीलाई?’

‘अलिअलि!’

‘गाह्रो भए अप्ठ्यारो नमानी भन्नुस् है! म बोकेरै भए पनि पुर्‍याउँछु।’

‘हुन्छ नि! भाइ भए भरोस, गाई भए गोरस। यति दयालु भाइ भएपछि मलाई के को पिर।’

दिदीले मप्रति भरोसा राखेकीमा खुसी लाग्यो।

बोली नै मधुर उनको। उही सिर्जना शर्मा हुन् उनी, जो कुनै बेला रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम चलाउँथिन्। अहिले जस्तोे छ्यापछ्याप्ती अनलाइन र पत्रपत्रिका थिएन उति बेला। कथा, कविता र पुस्तक चर्चा रेडियोबाटै सुन्नुपथ्र्यो साहित्यानुरागीले। उनी वि.सं. २०३५ देखि २०४४ सालसम्म हरेक सोमबार, मङ्गलबार र बिहीबार रेडियो नेपालमा अनवरत छाइरहिन्। अझै पनि मेरो कानमा गुञ्जिरहन्छ, उनको मिठो आवाज।

उनी भन्छिन्, ‘हामी रेडियोमा बोल्ने मान्छे बाहिर निस्कँदा हेर्नेको धुइरो लाग्थ्यो।’

‘उमेर घर्के पनि आवाज चाहिँ घर्किदोरहेनछ है!’ म भन्छु।

‘ऊ बेलाकी सेलिब्रिटी हुन् दिदी। अहिले उहाँ आएको थाहा भएको भए यहाँका रेडियो, टीभी र एफएमहरू अन्तरवार्ता लिन आइसक्थे।’ प्रमोद दाजु भन्छन्।

वरिष्ठ साहित्यकार हुन्– प्रमोद प्रधान। बाल साहित्यमा विशेष अभिरूची छ उनको। मनका धनी छन् उनी। बालबालिकाको साहित्यिक भविष्यका लागि अघिल्लो दिन मात्र बाल वाङ्मयमा पाँच लाखको अक्षय कोष खडा गरिदिने वचन दिए उनले। एउटा उम्दा एवम् कुशल समीक्षक हुन् उनी। मेरो पुस्तकको समीक्षा गर्दै छन् उनले।

छरितो छ सिर्जना दिदी र प्रमोद दाजु दुवैको ज्यान। हिँडाइ सुस्त भए पनि थकान देखिनँ मैले। बरु धीमा गतिमा थिए, शान्ति सापकोटा र मञ्जु ज्ञवाली। हिलेखर्कबाट हिँड्नु परेको भए त तीन घन्टा लाग्थ्यो छिम्केश्वरी पुग्न। धन्न फेदीसम्म सडक आएकोले सहज भएछ। नत्र के सम्भव हुन्थ्यो र उनीहरूका सारमा छिम्केश्वरी पुगी आजै आँबुखैरेनी फर्कन ! हठात् तरङ्ग उठ्छ मेरो मनको सतहमा।

उनीहरूलाई छाडेर तन्कन्छु म। अलि अगाडि पुगेर प्रा.डा. तारानिधि भट्टराईलाई भेट्छु। भूगर्भविद् हुन् उनी। उनी यो देशको बिरलैमध्येका एक अध्येता। समाजका असल व्यक्तित्व। विश्वविद्यालयका विद्वान प्राध्यापक। र, देशकै असल नागरिक। उनी मृदुभाषी। उनको बोलीमा भएको मिठासले प्रभावित भएको छु म।

उनीहरूलाई छाडेर तन्कन्छु म। अलि अगाडि पुगेर प्रा.डा. तारानिधि भट्टराईलाई भेट्छु। भूगर्भविद् हुन् उनी। उनी यो देशको बिरलैमध्येका एक अध्येता। समाजका असल व्यक्तित्व। विश्वविद्यालयका विद्वान प्राध्यापक। र, देशकै असल नागरिक। उनी मृदुभाषी। उनको बोलीमा भएको मिठासले प्रभावित भएको छु म। उनीजस्तोे विद्वत् व्यक्तिले बोलेका शब्दहरू सुन्दा पनि मज्जा आउँदोरहेछ। तीन दिन मात्र भयो उनीसँग चिनापर्ची भएको। तर वर्षौं हेलमेल भएजस्तोे लागिरहेछ।

संवाद हुँदै जाँदा उनले जिज्ञासा राखे– ‘तपाईंलाई ‘सर’ भनेर सम्बोधन गरूँ कि ‘भाइ’ भनेर?’

कसैले मलाई ‘दाइ’ वा ‘भाइ’ भनेर सम्बोधन गर्दा जति निकटताको अनुभूति हुन्छ, ‘सर’ भन्दा हुँदैन। फेरि ‘फर्मल’ भन्दा ‘फमिलियर’ हुन रुचाउँछु म। ‘भाइ’ भन्दा जस्तोे प्रेमको मिठो सुवास कहाँ हुन्छ र ‘सर’मा। यसै पनि आफूभन्दा पाको मान्छे। कसरी ‘सर’ भनेर सम्बोधन गर्न लगाउनु ! भातृप्रेममा नै निहित हुन्छ अनौठो शक्ति।

मैले भभनेँ– ‘मलाई ‘भाइ’ भन्नुस् !’

सहर्ष स्वीकारे उनले। नाता लगायौँ दाजुभाइको। मैले एउटा असल दाजु पाएँ। सायद उनले एउटा भाइ पाए।

निरन्तर चढिरहेका छौँ, छिम्केश्वरी पहाडको धारको सिँढी। हालसालै बनाइएको रहेछ, छिम्केश्वरीसम्म पुग्ने खुट्किला र ४८६ मिटर लामो समाउने रेलिङ।

उकालिँदै गर्दा बाटैमा भेटियो, शिद्ध भैरवको बासस्थान। रूखमुनि एउटा सानो टीनको पातामा लेखिएको छ– ‘शिद्ध भैरव’ र, त्यसैको मुनि छ– सिङ्गमरमरमा कुँदिएको सूचना पाटी। रूखैमुनि छन्– भक्तहरूले चढाएका त्रिशूल, घन्ट र पालाहरू।

सँगै छन्– स्थानीय लक्ष्मण गुरुङ। खुट्किला चढ्दै गर्दा लक्ष्मणसँग केही कुतूहल मेटाउँछु म।

‘यो पहाडलाई छिम्केश्वरी भन्नुको कारण के हो?’

‘उति बेला यसलाई छिम्का लेक भनिन्थ्यो रे। छिम्केश्वरीमाईले बास गर्न थालेपछि छिम्केश्वरी भनिन थालेछ।’

बूढीदेवीमाई, मनकामना, अकला, थानीमाई, ढोरवाराही, गोरखकाली, छाब्दीवाराही र अन्नपूर्णामाईको नाम लिँदै उनले अगाडि भने, ‘यो पहाडको वरिपरि देवी नै देवीले बास गरेका छन्।’

देवीले बास नगरेको त कुन ठाउँ छ र नेपालमा।

अग्लाअग्ला खस्रु र लालीगुराँसको सेपमा अस्तित्त्व फिँजाइरहेका लट्टे, कल्की, पानीअमला, गुर्दौली, तितेपाती, गुमपाती, सुनपाती र लालपार्वतीजस्ता वनस्पति चिनाए मलाई लक्ष्मणले। पन्ध्र वर्ष वैदेशिक रोजगारमा बिताएका उनी अहिले कृषि कर्म गर्दारहेछन्। छब्बीस रोपनी जग्गामा त कुखुरा र बाख्रा मात्रै पालेका रहेछन्।

अन्तरङ्ग कुरकानी भयो उनीसँग।

भन्छन्– ‘धेरै वर्ष नोकरीमा बिताएँ। भाग्यले कताकता डो¥यायो मलाई। अहिले जन्मेको माटोमै खनीखोस्री गरिरहेछु।’

आफ्नै माटोमा पसिना चुहाउनु जस्तोे राम्रो के छ र। पसिना रोप्न सके यहीँ फल्छ सुनचाँदी। यहीँ फल्छ हिरामोती। रोगले मर्लान्, कालगतीले मर्लान् तर उत्पादनसित जोडिनेहरू भोकले कहिल्यै मर्दैनन्। मैले नमन गरेँ उनको अनुकरणीय कर्मलाई।

नीलिमा पोतिएको छ छिम्केश्वरीको आकाशभरि। छलङ्गै देखिन्छन् हिमालका लर्कन, क्षितिजदेखि क्षितिजसम्मै। सेता घोडाका बथान जस्ता। अप्सराहरू लामबद्ध भई उभिए जस्ता। सेता स्तूपहरूलाई लहरै राखे जस्ता। धर्तीमा रङ भरिरहेका छन्, रङ्गीबिरङ्गी पुतलीहरूले। पन्छीहरू न्यानो हावामा निर्बाध कावा खाइरहेका छन्। फेरि कम रोमाञ्चक छैन, आकाशमा घाम र जून दुवै एकै पटक गोचर भएको यो क्षण। सितिमिति कहाँ पाइन्छ र धर्तीबाट आकाशमा देखिने यस्तो अद्भुत दृश्य देख्न !

छिम्केश्वरीमाई दर्शन गरेका भक्तजनहरू धमाधम ओरालो झर्दै छन्। एकखालको चमक देखिन्छ उनीहरूको मुहारमा। सायद माईको दर्शन पाएको अर्थमा। मनकान्छे पूरा भएको अर्थमा। भाकल पूरा गर्न सकेको अर्थमा। आखिर मान्छेहरू मन्दिर धाउने भनेको यस्तैयस्तै अर्थहरूका लागि न हो !

अन्ततः २१३४ मिटर उचाइको पहाडको शिरमा पदार्पण गर्‍यौँ हामीले।

सुन्दर दृश्यलाई आ–आफ्नो मोबाइलमा समेट्दै थिए– विवेक लामा, रविन्द्र मानन्धर, क्रान्ति पाण्डे र केदार श्रेष्ठ। ‘यिनै हुन् छिम्केश्वरीमाई।’

खुट्किला सकिनेबित्तिकै दाहिनेपट्टि अवस्थित मन्दिरलाई देखाउँदै लक्ष्मणले भने।

कल्याङमल्याङ आवाज आइरहेको थियो मन्दिर परिसरबाट। पूजाआजा गर्दै थिए भक्तजनहरू।

मन्दिरअगाडि छ– ढलौटको देवा। स्व. निकेश गुरुङको सम्झनामा बनाइएको द्वारमा झुण्डिएका छन् सानाठूला घन्ट। त्रिशूल गाडिएका छन् मन्दिरअगाडि।

‘छिम्केश्वरीमाई कि– जय!’ मन्दिरअगाडि पुग्नेबित्तिकै मनमनै भनेँ मैले।

साँघुरो छ मन्दिर परिसर। माईलाई दाहिने पारेर फन्को मारेँे। फन्को मार्दै गर्दा तलतिर हेरेँ। छङ्गाछुर भीरको टुप्पा पो रहेछ छिम्केश्वरी। छिम्केश्वरीभन्दा निकै तल देखिन्छन्– पारिपट्टिका इच्छामनकामना र मनकामनामाई। लगभग त्यही उचाइमा उभिएका छन्– घलेडाँडा, बाथलडाँडा, मलेथुङडाँडा, देउकुनाडाँडा, सोलीघोप्टेडाँडा, गोरखा, र बन्दिपुर। बेसीमा लम्पसार तनहुँको सत्रसय फाँट र गोरखाको पालुङटारका तस्वीरहरूमा आँखा बिछ्याउँछु म।

‘तनहुँसुरबाट उडेर आएकी रे छिम्केश्वरी !’ मन्दिरको देब्रे कुनामा आइपुगेपछि लक्ष्मणले भने।

कस्तो अचम्म !

‘कारण के होला है?’ सोधेँ।

‘कुनै बेला छिम्केश्वरी तनहँसुरमा बस्थिन् रे। त्यहाँ एकजोडी तोप चराले पनि गँुड लगाएर बसेका थिए रे। पुजारीले छिम्केश्वरीलाई गर्ने पूजापाठ ती जोडी चराले रोजिन्दा देख्ने गथ्र्यो रे। पुजारीले नित्य पूजा राम्रो गर्दैनथ्यो रे। एकदिन पोथीले गुँड छाडेछ र उड्दै यहाँ आएर बसेछ। पोथीले भन्दा भालेले पहिले गुँड छाडेर तराई झर्नु तोप चराको विशेषता हो। तर पोथीले नै पहिले गुँड छाडेको थियो, त्यो पनि तराई नझरेर छिम्का लेक आयो। उताको पुजारीले गरेको नित्य पूजा राम्रो नभएकोले छिम्केश्वरीमाई नै चराको भेषमा यहाँ आएर बसेको भन्ने विश्वास गरियो।’

रोचक दन्ते कथा सुनाए लक्ष्मणले।

मेरो पथप्रदर्शकको भूमिका निर्वाह गरिरहेछन् उनी।

शक्तिरूपा हुन् छिम्केश्वरी। अरू सबै देवीको दर्शन गरे पनि छिम्केश्वरीको दर्शन नगरेसम्म मनकान्छे पूरा हुन्न भन्ने सुनेको थिएँ। सोचेँ– ‘यहाँसम्म आइपुगेपछि दर्शन त गर्नै प¥यो !’ जुत्ता र छालाको पेटीलाई बाहिरै राखेर मन्दिरभित्र प्रवेश गरेँ।

शिलामात्र देखिन्छ मन्दिरभित्र। अचम्म पो लाग्यो।

‘खोइ त माई?’ पुजारी पदम गुरुङलाई सोधेँ।

उनी छिम्केश्वरी गाउँपालिका–५ की महिला सदस्य फूलमाया गुरुङको पति।

‘छिम्केश्वरीको पुजारी पदम गुरुङ मेरो बुढा हो। ऊ अघि नै माथि गइसकेको छ।’ लाब्दीमा परिचय गर्दै गर्दा मलाई भनेकी थिइन् उनले।

‘यही हो। यिनकी काहिँली बहिनी मनकामनाले सुँगुर र कुखुराको बली लिएकाले रिसाएर ‘अबदेखि कहिल्यै मुख हेर्दिनँ’ भनेर यसरी बसेकी।’ पिठ्यूँ फर्काएर टाउको निहुराई बसेको मानव आकृति झैँ लाग्ने शिला देखाउँदै पदम गुरुङले भने।

परेवा र बोकाको मात्र भोग खान्छिन् छिम्केश्वरीले।

चार जना महिला आइपुगे। मन्दिर परिसरमा आइपुग्नेबित्तिकै हठात् काँप्न थालिन् तीमध्ये एउटी। उनीहरू लमजुङबाट आएका मगर समुदायका रे। केके केके भट्याउँदै थिइन्। बुझिन्नथ्यो उनले बोलेको। असामान्य लाग्थ्यो दृश्य। सन् २०१२ मा मुक्तिनाथमा यस्तै देखेको थिएँ। पूजा गर्दै गर्दा यसरी नै काँपेका थिए, जुम्लाबाट आएका ती भक्तजन।

त्यो बेला कसैले भनेका थिए– ‘आफ्नो भगवान्मा लीन हुँदा मान्छेलाई यस्तो शक्ति आउँछ।’

कसरी हुन्छ त यस्तो? सुषुप्त अवस्थामा रहेको क्षमता किन यसरी जागरुक हुन्छ? के यो भगवान्प्रतिको विश्वासको गहिराइको पराकाष्ठा हो? वा मनोवैज्ञानिक असर मात्र? आफैँलाई सोध्छु म।

लक्ष्मणले मलाई पहाडको शिरको पल्लाछेउ पुर्‍याए। तुलनात्मक रूपमा फरकिलो छ यो भाग। यहाँ बास गरेकी छिन् बूढी देवीमाईले। उनी छिम्केश्वरीकी सात दिदीबहिनीमध्येकी सबैभन्दा जेठी। माहिली छिम्केश्वरी, साहिँली गोरखकाली, काहिँली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाई।

पाँच–सात वर्षअघि बूढी देवीमाईको मूर्ति चोरी भएको समाचार सुनेको थिएँ। चोर्नेलाई अफाप भएपछि उसले फेरि जहाँको तहीँ राखिदिएका थिए रे। मूर्ति चोरी नेपालको सन्दर्भमा नौलो होइन। ललितपिुरको मछिन्द्रनाथको भोटोदेखि तीन वर्ष अघि नुवाकोटको भैरवीको मूर्तिसमेत चोरी भए। चोरिएका मूर्तिहरू सजिलै युरोप र अमेरिकासम्म पुग्छन्। मूर्तिहरूले नेपालको संस्कृति, प्राचीन सभ्यता र इतिहास झल्काउँछ। मानिस मर्छ तर मूर्ति मर्दैन, न त इतिहास नै मर्छ। अरू देशले आफ्नो ऐतिहासिक सम्पदाको उत्खनन गरिरहँदा नेपालले भने भएकै सम्पदा जोगाउन नसक्नु कस्तो विडम्बना ! किन यस्ता कुराहरूमा सरकारले सावधानी अपनाउन सक्दैन? छक्कै पर्छु म ।

‘नयाँ वर्ष, ल्होसार र फागुपूर्णिमाको दिन मेला लाग्छ यहाँ। त्यो बेला आउनुस है ! हाम्रै घरमा बस्नू होला नि !’ बूढी देवीमाईको प्राङ्गणमा टहलिँदै गर्दा मलाई निम्तो गर्न भ्याए लक्ष्मणले।

छिम्केश्वरी– महाभारत पर्वत शृङखलाको तेस्रो अग्लो शिखर। छिम्केश्वरी– तनहुँको सगरमाथा। छिम्केश्वरी– अध्यात्मको उर्वर भूमि। छिम्केश्वरी– उदाउँदो र अस्ताउँदो सूर्यको आश्चर्यजनक दृश्य देखिने उच्च बिन्दु। त्रिशूली, मस्र्याङ्दी र सेती नदीले घेरेको छ, छिम्केश्वरी पहाडलाई। धौलागिरि हिमशृङ्खला, हिमचुली, मनासलु, र गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा र महालङ्गुर हिमशृङ्खला एउटै रेखामा जोडिएका देखिन्छन्। एकसाथ हिमाल, पहाड र तराईको दृश्य अवलोकन गर्न सकिने तनहुँको उच्च भूबिन्दु हो– छिम्केश्वरी। एउटै बिन्दुमा उभिएर तीन सय साठी डिग्रीमा तीन चोटि घुमेँ म।

बूढी देवीमाई मन्दिरअगाडि एउटा खण्डहर छ।

‘के थियो यहाँ?’ सोधेँ।

लक्ष्मणले भने– ‘टेलिफोन टावर बन्दै थियो। जनयुद्धकालमा माओवादीले काम अगाडि बढ्न दिएनन्।’

बन्दै गरेका संरचनाहरूलाई बनाउन सकिएन। भएकालाई पनि ध्वस्त पारे। यही भएर त मुलुक वषौँ पछाडि धकेलियो नि ! ‘भत्काउन मात्र कठिन हो। बनाउन त सजिलो हुन्छ भन्थे।’ खोई त विकास ? खोइ त अमन ? खोइ त मानवअधिकार ? खोई त देश र जनताप्रतिको जिम्मवारी ? सम्झेर ल्याउँदा चसक्क दुख्छ मन।

‘उः पर छेउमा ढुङ्गेकुटी थियो। जोगीहरू बस्थे। पन्ध्र वर्षअघि पहिरोले लग्यो। कुटी नै नभएपछि जोगीहरूले छाडे। त्यहीँको ढुङ्गा अहिले सिँढीमा प्रयोग गरिएको छ।’ लक्ष्मणले यो कुरा भन्दै गर्दा सहयात्रीहरू सबै आइपुगे।
०००

कार्यक्रम सुरु भयो बूढी देवीमाईको प्राङ्गणमा। भुईंमा ब्यानर बिछ्याए अनिलजीले। कार्यक्रमको उठान गरे– आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुन ढकालले। स्वागत गरे सूर्यमानसिँह गुरुङले। पृष्ठभूमिमा हिमाललाई साक्षी राखेर ‘पैतालामा हिउँ, आँखामा हिमाल’को परिचर्चा भयो। आँखामा हिमाल त थियो नै। पैतालामा पनि हिउँ भइदिएका भए पुस्तकको नामअनुसारको परिवेश पनि मिल्थ्यो कि भन्ने लागेथ्यो मलाई। साहित्यकार प्रमोद प्रधान र केशरी आम्गाईंबाट पुस्तकको परिचर्चा भयो। शुभकामना व्यक्त गरे प्रा. डा. तारानिधि भट्टराईले। कवि प्रोल्लास सिन्धुलीय, आकाश अधिकारी, मञ्जु ज्ञवाली र शिव आर्यको मिठामिठा सिर्जना वाचनसँगै कार्यक्रम सकियो।

कृतज्ञ भएँ म अनिल श्रेष्ठप्रति। नेपाली साहित्यका सशक्त प्रगतिवादी हस्ताक्षर हुन् उनी। साहित्यिक गतिविधिहरूमा लोभलाग्दो सक्रियता छ उनको। उनको सक्रियताविना मेरो कृतिले छिम्केश्वरी दर्शन गर्न कहाँ पाउँथ्यो र ! उनीप्रति आभारी हुँदै धन्यवाद ज्ञापन गरेँ मैले।

कार्यक्रम सकिनैलाग्दा पश्चिमतिरबाट बतासिएर आएको बादलको ठूलै फाल्सा हाम्रै शिर हुँदै हिमालतर्फ लाग्दै थियो। सायद चिसो हावा चल्दै छ भन्ने सन्देश थियो त्यो। साढे दुई बजिसकेको थियो, हामीले छिम्केश्वरी छाड्दा। साँच्चै नै चिसो सिरेटो चल्न थालिसकेको थियो।
सिरिरिरि हावा
छिम्केश्वरी डाँडैमा
माया तिम्लाई छ भने
बस आडैमा ……’

अघिल्लो पटक तनहुँ आउँदा गाडीमा सुनेको यही गीत गुन्गुनाउँदै लाब्दी झरेँ म।

प्रतिक्रिया दिनुहोस्

CEO/Chairman: Sarbagya Wagle

California (USA)